
पोखरा, ८ फागुन । पोखरा नयाँबजारस्थित शान्ति वन वाटिकामा संचालित जंगल फेस्टिभल शनिबार सकिँदैछ । सात दिनसम्म चल्ने भनिएको फेस्टिभलको दुई दिन समयावधी थप भएका कारण शनिबार सकिन लागेको हो । शनिबार विशेष कार्यक्रम गरेर आयोजक परिचय नेपालले फेस्टिभलको समापन गर्ने भएको छ ।
समापनको दिन शनिबार दैनिक मनोरञ्जनात्मक कार्यक्रमहरु पनि हुने आयोजकले बताएको छ । शनिबार दर्शकहरुका लागि मनोरञ्जनको सम्पूर्ण प्याकेज दिईने परिचय नेपालका अध्यक्ष सोभित बस्यालले जानकारी दिए । समापनको दिन भएका कारण फेस्टिभल भित्र रहेको मिनि चिडियाखानामा राखिएका जनावरहरु निशुल्क हेर्न पाईने आयोजकले बताएको छ ।
जंगल फेस्टिभल अन्तरगत शुक्रबार कमल क्षेत्री, विग आईकन मुस्कान रानाभाट, थारु डान्स, सर्कस काठमाण्डौ र लाईभ ब्याण्डको प्रस्तुतीसँगै लोकदाहोरी कार्यक्रमलाई दर्शकले निकै रुचाए । संगै साँझ भएको डिजे सेसन पनि तन्नेरी पुस्ता निके झुमेका थिए ।
अन्तिम दिन शनिबार जंगल फेस्टिभलमा जंगली थिमको फेशन शो, सर्कस काठमाण्डौको प्रस्तुती, डिजे नाईट, तिलकबम मल्ल, विनोद बानीयाँ लगाएतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले बताएको छ । त्यस्तै शनिबार पोखरेली धुर्मुस र माग्ने बुढाको विशेष प्रस्तुती पनि रहनेछ ।
विश्वप्रसिद्धमोटर उत्पादक ‘भक्सवागन’ ब्राण्डले मूख्यप्रायोजन गरेको ईभेन्टलाई पश्चिमाञ्चलकै नम्बर वान एफएम विग एफएमले प्रस्तुत गरेको हो । एएचएलसीको सहकार्यमा हुने ईभेन्टमा नेपाल टेलिकम, नेपाल टुरिज्म बोर्ड र पोखरा उपमहानगरपालिका प्रबद्र्धक रहेका छन् ।
