नेपालले जित्याे यू-१५ महिला साफ च्याम्पियनसिपकाे उपाधि

Share:

काठमाडौं नेपाल पहिलाे पटक यू-१५ महिला साफ च्याम्पियनसिपकाे उपाधि जित्न सफल भएकाे छ। 

बंगलादेशमा सम्पन्न च्याम्पियनसिपको अन्तिम दिनकाे खेलमा घरेलु टोलीसँग १–१ को बराबरीमा रोकिएपनि नेपाल च्याम्पियन बन्न सफल भयाे।

नेपाली महिला फुटबल इतिहास कै याे पहिलो उपाधि हो। हालसम्म जुनियर हाेस् वा सिनियर, नेपाली महिला फुटबल टोलीले यसअघि उपाधि जित्न सकेको थिएन।

डबल राउन्ड रोविन लिगका आधारमा खेलाइएकाे प्रतियाेगितामा अपराजित रहँदै नेपालले उपाधि उचालेकाे हाे। च्याम्पियनसिपका यसअघिका तीनै खेल जितेकाे नेपालले चार खेलमा १० अंक जाेड्याे।

३ टोली  सहभागी प्रतियाेगितामा नेपालले पहिलो खेलमा भुटानलाई  ७–० र दोस्रो खेलमा बंगलादेशलाई १–० ले हराएको थियो। दाेस्राे चरणकाे लिग खेलमा भुटानलाई १–० ले हराएको नेपालले बंगलादेशसँग आज बराबरी खेलेकाे हाे।

शुक्रबार ढाकास्थित बीएसएसएसएमके स्टेडियममा भएकाे खेलको १४औं मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाएकी थिइन्। यसपछि ५४ औं मिनेटमा रुमा अख्तेरको गोलमार्फत बंगलादेशले खेललाई १–१ को बराबरीमा ल्याएको थियो।

खेलको अन्तिम मिनेटमा बंगलादेशको पेनाल्टीलाई नेपाली गोलकिपर सुजता तामाङले रोक्दै नेपालकाे हार टारेकी थिइन्।

कमेन्ट गर्नुहोस्
Share: