
काठमाडौं : अंग प्रत्यारोपणसम्बन्धी दुईदिने दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ। भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र अंग प्रत्यारोपण समाज नेपालको संयुक्त आयोजनामा काठमाडौंको नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा भइरहेको सम्मेलनमा जापान, अमेरिका, भारत, बंगलादेश लगायतका देशबाट समेत प्रत्यारोपण विज्ञहरू सहभागी छन्।
विकासोन्मुख देशहरूमा अंग दानसम्बन्धी जनचेतना कम भएको भन्दै सोही विषयमा जनचेतना जगाउन र नेपालले गरिरहेको अंग प्रत्यारोपणसम्बन्धी जानकारी दिनका लागि सम्मेलन आयोजना गरिएको प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिए।
सम्मेलनमा नेपालका तर्फबाट १६ वटा र विदेशी विज्ञहरूबाट १२ वटा कार्यपत्रहरू प्रस्तुत हुने बताइएको छ।
