
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच एक आपसमा गाभ्न/गाभिनको लागि सोमबार अन्तिम समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका हुन्। यसअघि ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच गाभ्नेरगाभिने (मर्जर) प्रयोजनका लागि मूल्याङ्कन कर्ताबाट प्राप्त चलरअचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १ः१ दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन् ।
मर्जर पश्चात् बैंकको कूल पुँजी रु. ५७ अर्ब, चुक्ता पुँजी रु. ३५.७७ अर्ब, कूल निक्षेप रु.४०० अर्ब, कूल कर्जा रु. ३७९ अर्ब भन्दा बढी पुग्नेछ । मर्जरपछि बन्ने नयाँ बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ ।
नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहने सहमति भएको छ । २१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् । साथै, दुवै बैंकले असोज मसान्त सम्म १ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरी सकेका छन् ।
दुई बैंकहरुको मर्जर पश्चात् कूल ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेशस्थित सम्पर्क कार्यालयहरु, ४० लाखभन्दा बढी ग्राहकहरुसहित अन्य धेरै वित्तीय परिसूचकहरूमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबै भन्दा ठुलो बैंक हुनेछ ।
दुवै बैंकहरु एक आपसमा गाभिए पश्चात् संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको सबैभन्दा सबल एवम् सक्षम बैंकको रूपमा वित्तीय बजारमा स्थापित भई ग्राहकहरुलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरूलाई उच्चतम् प्रतिफल दिने विश्वास बैंकले लिएको छ ।
