
चितवन १२ फागुन । प्रहरीले छापा मारेको बिरोधमा बन्द गरिएका चितवनका होटल लज तथा रेष्टुरेन्ट मंगलवार साँझबाट सञ्चालनमा आएका छन् । बिभिन्न निकायको रोहबरमा जिल्ला प्रशासन कार्यालय, प्रहरी र होटल ब्यवसायी संघ चितवनबीच भएको वार्तापछि ति पुनः सञ्चालनमा आएको हो ।
वार्तामा होटल, लज तथा रेष्टुरेण्ट ब्यवसायलाई ब्यवस्थित, मर्यादित र कानुन सम्मत बनाउन हालको आचार संहितालाइ परिमार्जन गर्ने समहति भएको छ । उक्त परिमार्जन गर्नका लागि सामुदायिक सेवा केन्द्र नारायणगढको संयोजकत्वमा कार्यदल समेत गठन गरिएको छ । जिल्ला प्रशासन, प्रहरी, उद्योग वाणिज्य संघ नारायणगढ समेत रहेको उक्त कार्यदलले ७ दिन भित्र काम सक्ने गरी जिम्मा दिइएको हो
वार्तामा बेलुका ९ बजे सम्म होटल, रेष्टुरेन्ट सञ्चालन गर्न पाउने समय बढाएर १० बजे सम्म सञ्चालन गर्ने सममति भएको होटल ब्यवसायी संघ चितवनले जनाएको छ । प्रहरीले छापा मारी ब्यवसाय सञ्चालक र लजमा बसेका श्रीमान श्रीमती लाई समेत नियन्त्रणमा लिएको बिरोधमा संघमा आबद्ध करीब ८ सय होटल, लज तथा रेष्टुरेण्ट सोमबारदेखि बन्द थिए ।
चितवनका होटलमा अबैध यौनकार्य हुने गरेका भन्दै चितवन प्रहरीले शनिबार दिउँसो नारायणगढ र भरतपुर क्षेत्रका सय भन्दा बढी होटल तथा लजमा छापा मारी ४९ जनालाई नियन्त्रणमा लिएको थियो ।
