
मोरङ : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गठबन्धनको नेतृत्वमा आगामी सरकार गठन हुने विश्वास व्यक्त गरेका छन्।
नेपालीका कांग्रेस महानगर समितिद्वारा मंगलबार विराटनगर आयोजित नेका नेता गुरुराज घिमिरेद्वारा लिखित पुस्तक ‘बाटो बिराएको राजनीति’ पुस्तकको विमोचन गर्दै उनले आगामी सरकारले जनताले चाहेको सुशासन, भ्रष्टाचारको अन्त्य, विकास र समृद्धि पूरा गर्नुपर्नेजस्ता चुनौती रहेको बताए ।
उनले भने, “इतिहास रचेको कांग्रेस पार्टीको शाख र विचार आगामी दिनमा जोगाउन र राजनीतिलाई सही बाटोमा लग्ने जिम्मा युवा पुस्तामा हस्तान्तरण गर्नुपर्नेे छ ।” नेता कोइरालाले कुनै विवाद विना एक ढिक्का भइ पार्टीलाई पुरानो अवस्थामा फर्काउनुपर्नेमा जोड दिए । उनले निर्वाचनमा कांग्रेसले प्राप्त सिट सङ्ख्या वृद्धि भए पनि सात प्रतिशत मत घटेकोमा गम्भीर हुनुपर्छ भन्दै यसका लागि स्वतन्त्र एक छानबिन समिति गठन गर्नुपर्ने बताए ।
कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको नेतृत्वमा निर्माण हुने आगामी सरकारले सही ढङ्गबाट मुलुक सञ्चालन गरेर गुमाएको लाखौँ जनमत समेट्नुपर्ने बताए । उनले सरकार सञ्चालन गर्दा पूर्वाधार, शिक्षा, विकास निर्माण, स्वास्थ्य, रोजगारी सिर्जनासम्बन्धी काम गरेर जनताको मत जित्नुपर्नेमा जोड दिए ।
