मगर फिल्म ‘साली भेना’लाई रुचाए मगर समुदायले

Share:

रेम बिक, १६ फागुन | मगर सँस्कृतिमा आधारित नेपाली फिल्म ‘साली भेना’को शनिबार पोखरामा विशेष च्यारिटि शो भएको छ । मिस मगर यूनिटको आयोजनामा भएको च्यारिटि शो मा पोखरामा रहँदै आएका मगर समुदायको बाक्लो उपस्थिती रह्यो । वाराहि फिल्म हलमा पुगेर फिल्म हेरेका मगर समुदायका मानिसहरुले फिल्मलाई रुचाए ।

‘फुपु चेला र मामा चेलीबीच हुने विवाहलाई नै मुख्य विषयवस्तु बनाएर बनेको फिल्मको प्राविधिक पक्ष केहि कमजोर देखिएपनि विषयउत्थान निकै राम्रो लाग्यो ।’ फिल्म हेरिसकेपछि संचारकर्मी मनोज घर्तीमगरले भने–‘सँस्कृति संरक्षणसँगै त्यसबारे नयाँ पुस्तालाई जानकारी गराउनका लागि फिल्मले भुमिका खेलेको छ ।’

मिस मगर यूनिटले विभिन्न सामाजिक कार्यका लागि फिल्मको च्यारिटि शो गरिएको जानकारी दिएको छ । मिस मगर उषा पाईजा मगरले च्यारिटिमा सबैले साथ दिएको धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै साथ दिन समुदायका मानिसहरुलाई आग्रह गरिन् ।

गाहा मगर फिल्म प्रालिको पहिलो प्रस्तुती फिल्म ‘साली भेना’लाई प्रितम गुरुङले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि उनैले लेखेका हुन् । रमेशबाबु थापामगर, प्रिति आले, पवित्रा सारु मगर, सविता आलेमगर, चेतन थापामगर, निर आलेमगर, नविन विरही लगाएतका कलाकारहरुले फिल्ममा अभिनय गरेका छन् ।

करिब १० लाख रुपैँया निर्माण लागत रहेको फिल्ममा बुद्ध गाहामगरले लगानी गरेका हुन् । यसअघि यो फिल्म यूके, पाल्पा र तनहुँमा प्रदर्शन भैसकेको छ । फिल्म चाँडै हङकङ र अष्ट्रेलियामा पनि प्रदर्शन गरिने निर्माण कम्पनीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: