
कास्की : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समन्वय, सहकार्यबाट नै सङ्घीयता मजबुद हुने विश्वास व्यक्त गरेका छन् । आन्तरिक मामिला मन्त्रालय गण्डकी प्रदेशद्वारा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता, स्थानीय तथा आमनिर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेवापत प्रदेश र जिल्लास्तरीय सुरक्षा प्रमुखहरूको सम्मानमा आयोजित कार्यक्रममा उनले स्थानीय र सङ्घीय र प्रदेशस्तरका चुनाव एकै चरणमा सम्पन्न गरेर नेपालले उदाहरण पेस गरेको बताए ।
सुरक्षा निकायको प्रशंसा गर्दै मुख्यमन्त्री पोखरेलले नवौँ राष्ट्रिय खेलकुद गराउने जिम्मा पोखराले पाएको र त्यसलाई पनि सफलतापूर्वक सम्पन्न गर्न प्रदेश सरकार र जिल्लाले महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गरे । नागरिकस्तरबाट भएका आन्दोलनबाट प्राप्त व्यवस्थालाई सुदृढ बनाउने जिम्मा कर्मचारीतन्त्र र सुरक्षा निकायको रहेको बताउँदै उनले प्राप्त जिम्मेवारी उत्कृष्टरुपमा कार्यसम्पादन गरेको भन्दै प्रशंसा गरे ।
सङ्घीयता प्राप्तिपछि नागरिकले अभिमतमार्फत सरकार निर्माणका लागि प्रयोग गरेको यो दोस्रो अवसर हो भन्दै उनले लोकतन्त्रको सबैभन्दा राम्रो पक्ष नै आवधिक निर्वाचन रहेको उल्लेख गरे । सो अवसरमा मुख्यमन्त्रीले नेपाली सेनाको पश्चिम पृतनापति, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रदेश प्रमुखलाई सम्मान गरे । त्यस्तै ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखलाई कदरपत्र प्रदान गरिएको थियो ।
