बुढासुब्बा गोल्डकप: कास्कीमाथि ‍आर्मीको कठिन जित

386
0
Share:

धरान, फागुन १७ / कास्की फुटबल क्लबसँग विभागीय टिम त्रिभुवन आर्मीले ट्राइबेकरबाट कठिन जित हात पार्दै १७ औं रेडबुल बुढासुब्बा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ। धरान १७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा जारी आइतबारको खेलमा त्रिभुवन आर्मीले कास्की फुटबल क्लबलाई ट्राइबेकरमा ५ ४ गोल अन्तरले कठिन जित हात पार्दै अन्तिम चारको यात्रा तय गरेको हो।

निर्धारित समयसम्म दुबै तर्फबाट २ २ गोलको बराबरीमा रोकिएपछि समय अभावका कारण सिधै ट्राइबेकरमा धकेलियो। ट्राइबेकरमा आर्मीबाट जितेन्द्र कार्की, हिणन्य मगर, सन्तोष तामाङ, युद्ध साही र दिपक गुरुङले गोल गरे। कास्कीबाट खेम गुरुङको बल चुक्दा प्रदीप गुरुङ, राजेश गुरुङ, भूपाल गुरुङ, शिव सुवेदीले जाली चुमाए। खेलको म्यान अफ दि म्याच त्रिभुवन आर्मीबाट दुई गोल गरेका अमृत बस्नेत घोषित हुँदै सुनसरी टेक्निकल म्यान अफ दि म्याच नगद ५ हजार र ट्रफी पाए। उनले क्वालिटी फुड प्रोडक्सको तर्फबाट एक कार्टुन ताईपाई चाउचाउसमेत प्राप्त गरे।

आर्मीको आक्रामक खेलमा कास्कीले दवाव खेप्नु परे पनि दोस्रो हाफको पहिलो मिनेटमै राजेश गुरुङले सुन्दर गोल गरे। उनले शिव सुवेदीको पासमा गोलमा परिणत गरेका थिए। आर्मीबाट दोस्रो हाफको २६ औं मिनेटमा आर्मीका अमृत बस्नेतले विपक्षी गोलरक्षक नम्जेल लामालाई विट गरी गोल गर्दै कास्कीको अग्रतालाई रोके। उनले टंक बस्नेतको पासलाई सदुपयोग गरेका थिए।

कास्कीबाट लगत्तै पाएको फ्रिकिकलाई उत्तम गुरुङले गोलमा परिणत गर्दै अग्रता दोब्बर पारे। ३० यार्डमा आर्मीका रक्षापंक्तिका खेलाडीले प्रदीप गुरुङलाई लडाएपछि पाएको फ्रिकिकलाई सदुपयोग गर्न सफल बनेका थिए। खेलको इन्जुरी समयमा पदम तामाङको कर्नर बललाई अमृतले हेडमार्फत सुन्दर गोल गर्दै बराबरीमा ल्याए। खेलमा आर्मीले कास्कीलाई दवावमा राखे पनि गोलवर्षाहरुलाई विपक्षी गोलरक्षकले जोगाउँदा खेल ट्राइबेकरमा पुगेको थियो।

आर्मीका टिम कोच मेघराज केसीले पोखराको टिम खासै नभए पनि सुरुमा स्कोर ननिस्किदा समस्या भएको बताए। उनले आफ्ना टिमका भरत खवास, नवयुग श्रेष्ट र टेकबहादुर बुढाथोकीको अभाव खटि्एको बताउँदै पोखराले स्किल गेम देखाउन सकेको बताए।

त्यस्तै पोखराका कोच राजेन्द्र तामाङले हाम्रो टिमले आर्मीसँग हारिन्छ भन्ने सोचेको तर, यहाँ आइपुगेर हारिन्छ भन्ने नसोचेको बताए। उनले रेफ्रिले २ वटा हेण्डबलहरु नदिएको र इन्जुरी समयमा थपिएको ७ मिनेट नै आफ्नो टिमको लागि हार भएको बताए।

भोलिको खेल एपिएफ काठमाडौं र चुनाल्चु क्लव सिक्किमबीच स्पर्धा हुँदै छ। यस अघि सिक्किमको सट्टा बेलगेरिया फुटबल क्लब आउने भनिएको थियो।

भोजराज श्रेष्ठ 

कमेन्ट गर्नुहोस्
Share: