थकालीको तोरन्लको अवसरमा तारा खेल

430
0
Share:

रञ्जन अधिकारी पोखरा, १८ फागुन / पोखरामा रहेका थकाली समुदायले सोमबार विविध कार्यक्रमका बीच आफ्नो महान चाड तोरन्ल्ह (फागूपूर्णिमा) मनाएका छन् । थकाली सेवा समिति, पोखराको आयोजनामा पाँच दिने तारा खेल (धनुष वाण हान्ने) प्रतियोगिता पनि सुरु भएको छ ।

थकाली समुदायले परम्परागत पर्व तोरन्ल्हको अवसरमा १८ दिनदेखि २२ दिनसम्म तारा खेल्ने प्रचलन रहँदै आएको छ । देशभरका १८ क्षेत्रका समितिको आयोजनामा पनि तारा खेल आयोजना भएको थकाली सेवा समितिले जानकारी दिएको छ । सोमबार पहिलो दिन थकालीहरुले एक अर्कामा शुभकामना आदानप्रदान गर्दै चेलीबेटी, ज्वाई, भाञ्जाभाञ्जीलाई मिष्ठान्न भोजन खुवाए ।

तारा खेलमा सोमबार योगेन्द्र शेरचन र जुम भट्टचनले अग्रता लिएका छन् । पहिलो दिन सहभागीहरुले जम्मा सात खोल हान्न सफाल भएकोमा योगेन्द्र र जुमले दुई÷दुई अंकका साथ अग्रता लिएका हुन् । यस्तै सञ्जीवमान तुलाचन, ओम भट्टचन र जितेन्द्रमान शेरचनले एक÷एक अंक जोड्न सफल भएका हुन् । करीब ४० जना सहभागी भएकोमा प्रत्यकले ५० तिर प्रहार गरेको प्रतियोगिताका संयोजक समेत रहेका योगेन्द्र शेरचनले बताए । पहिलो दिन चार ‘चन’ हरु शेरचन, भट्टचन, तुलाचन र गौचनहरु सहभागी थिए । मंगलबारदेखि तारा खेल्ने मगर, गुरुङ, ताङ्वेहरु पनि सहभागी हुने संयोजक शेरचनले बताए ।

पाँच दिनसम्म जसले सबैभन्दा बढि अंक जोड्न सक्छ, उसलाई सर्वोत्कृष्ट घोषणा गरी पाँच हजार नगद र प्रमाणपत्रले सम्मान गरिने आयोजकले जनाएको छ । सोमबार बिहानैदेखि पाँच पाँच जनाको धौलागिरी, निलगिरी र कालीगण्डकी टिम बनाई बाजी समेत खेलिएको थियो ।

यसअघि, समितिका निवर्तमान अध्यक्ष अजित शेरचनले तारा हानेर प्रतियोगिता उद्घाटन गरेका थिए । उनले आफ्नो परम्परागत पर्व भुल्न नहुने बताउँदै प्रत्येक वर्ष कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताए । उनले आफ्नो भाषा र संस्कृति जोगाएमात्र आफ्नो जाति बाँच्ने बताए । तोरन्ल्हमा थकालीहरुले पितृ पूजा गर्ने गर्दछन् । मध्यरातमा उठेर पितृहरुलाई पूजा गर्ने चलन छ ।

समितिका अध्यक्ष अमर तुलाचनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विश्वमोहन गौचनले स्वागत तथा सचिव आत्मा तुलाचनले कार्यक्रमको संचालन गरेका थिए । सोमबार बिहान ¥याली निकाल्ने कार्यक्रम भएपनि वर्षाका कारण सो कार्यक्रम भने स्थगन गरिएको सचिव तुलाचनले बताईन् ।

कमेन्ट गर्नुहोस्
Share: