
गोकुल बानियाँ पोखरा १८ फागुन । खराब मौषमको कारण पोखरामा जारी प्याराग्लाइडिङ प्रि – वल्र्डकपको उडान लगातार तेस्रो दिन स्थगित भएको छ । पहिलो दिन शुक्रबार अभ्यास उडानपछि शनिवारबाट हुने भनिएको प्रतियोगितात्मक उडान अझै सुरु हुन सकिरहेको छैन ।
शनिवार, आईतवार र सोमवार पोखराको आकाश खुल्न सकेन । मौषममा निर्भर रहने भएकाले प्रतियोगिता सञ्चालनको लागि अनुकुल मौषमको प्रतिक्षामा बसिरहेको आयोजक नेपाल हवाई खेलकुद संस्था (ना) ले जनाएको छ । उडान भर्ने स्थान सराङकोटको आकाश सोमवार पनि बादलले ढाकेको छ ।
सराङकोटबाट उडान भर्न नपाएपछि ग्लाइडर लिएर र मौसम कुर्दै शनिबार र आईतवार दुई दिन विताएका पाईट सोमवार पनि खराब मौषमको कारण रोकिएका हुन् ।
७ दिनको खेल संचालन हुने भए पनि दुई दिन अतिरिक्त समय राखिएको र उडान भएको दिन र प्रतियोगिहरुको प्रतिस्प्रर्धाका आधारमा विजेता घोषणा गरिने आयोजकले जनाएका छ । प्रि—वल्र्डकपका संयोजक एवं ना का उपाध्यक्ष सोवित बानियाँका अनुसार प्रतियोगिता सम्पन्न गर्न कम्तीमा पनि तीन दिन पूर्ण रुपमा उडान हुनुपर्छ ।
मंगलवार पनि उडान हुन नसके एक दिन थप गरी फागुन २२ गतेमात्रै प्रतियोगिता सम्पन्न हुनेछ । जल तथा मौषम बिभागले मंगलवारबाट मौषममा सुधार आउने अनुमान लगाएकाले मंगलवारबाट प्रतियोगितात्मक उडान थाल्ने आयोजकको तयारी छ । मौसम हेरी प्राविधिक टोलीले सराङकोट, अर्मला, ढिकीडाँडा र तोरीपानीको क्षेत्रलाई लक्षित गरी ६२.८ किलोमिटर दुरी क्रस कन्ट्रीको आधारमा निर्धारण गरेको नाका प्राविधिक उपाध्यक्ष रविन गुरुङले बताए । प्रतियोगितामा नेपाल सहित ३६ राष्ट्रका एक सय ५० प्यारापाईलट सहभागि छन् ।
प्रि–वल्र्ड कपको बिजेताले उपाधि सहित ५० हजार, उपविजेताले ४० हजार र तेश्रो हुनेले ३० हजार साथमा ट्रफिमेडल प्रमाण–पत्र प्राप्त गर्ने भएको नाका अध्यक्ष योगेश भट्टराईले बताए । त्यसै गरी ओभरल वुमेन, ओभरल नेपाली र स्पोटर्स क्लासका विधामा बिजेता हुनेले ३० हजार, उपविजेता हुनेले २० हजार र तेश्रो स्थान हासिल गर्नेले भने १०÷१० हजारको साथमा ट्रफि मेडल प्रमाण–पत्र प्राप्त गर्ने भएका छन् ।
