
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विदेशमा रहेका नेपालीलाई जागिरको अफर गर्दै एअरपोर्टमै स्वागत गर्न आफू जाने बताएका छन्।
शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत सभापति लामिछानेले यस्तो अफर गरेका हुन् । उनले चितवनस्थित आफ्नो कार्यालयको प्रमुख कार्यकारी अधिकृत (सीइओ)का लागि विदेशमा रहेका नेपालीहरूलाई जागिर दिने उल्लेख गरे ।
विदेशमा रहेका, व्यवस्थापनमा दखल राख्ने र स्वदेशमा केही गर्न इच्छुक व्यक्तिको आफूलाई खाँचो रहेको उनले फेसबुकमार्फत बताएका हुन् ।
“यो देशमा मान्छे बाकसमा मात्र फर्किनु पर्छ भन्ने छैन। विदेशमा रहनुभएका व्यवस्थापनमा दखल राख्ने, स्वदेशमा केही गर्न इच्छुक व्यक्तिको हामीलाई खाँचो परेको छ। हाम्रो चितवन कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सीइओ) भएर विकास, सुशासन, व्यवस्थापन लगायतका सम्पूर्ण कार्यभार सम्हाल्न सक्ने मान्छेलाई अति आकर्षक तलब तथा सुविधासहित म एयर्पोटमा स्वागत गर्न तयार छु”, उनले भनेका छन् ।
“कति बाकसमा मात्र फर्किने? अब आकर्षक जागीरका लागि श्वास र आश लिएर नेपाल आउने नि, हैन त? सुरूवात एक जनाबाट, थप योजना सार्वजनिक गर्दै जाँउला। आफ्नो सीभी मलाई पठाउनु होला। म तपाईंलाई लिन आफैं एयरपोर्टमा आउँछु”, उनले लेखेका छन्।
