सरकारलाई सफल बनाइन्छ : अध्यक्ष ओली

Share:

काठमाडौं :  पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाइने बताएका छन् । एमालेको संसदीय मामिला विभागले संसदीय अभ्यासबारे जानकारी गराउन आज यहाँ आयोजना गरेको ‘नेपालमा संसदीय प्रक्रिया तथा कानुन तर्जुमा’ विषयक अभिमुखीकरण कार्यक्रममा उनले राजनीतिक, नीतिगत र व्यावहारिक हिसाबले सरकारलाई सफल बनाइने बताएका हुन् ।

“यो सरकारलाई सफल बनाउन चाहान्छौँ”, अध्यक्ष ओलीले भने, “सरकारलाई हामीले उपयुक्त ढङ्गले मार्गनिर्देश गर्छौँ । सरकारले सही नीति लेओेस्, भ्रष्टाचार नगरोस् र सुशासन तथा विकास गरेर सक्रियताका साथ अघि बढोस ।” उनले यही पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतसमेत पाउने बताए ।

अध्यक्ष ओलीले संसद् अधिवेशन सुरु हुने दिन तथा प्रधानमन्त्री दाहालले विश्वासको मत पाउने दिन संसद् भवनमा समयमा नै प्रवेश गर्न सांसदहरुलाई निर्देशनसमेत दिए । एमाले संसदीय दलका नेतासमेत रहेका अध्यक्ष ओलीले केही बाहिरी तत्वले अहिलेको सरकार ढाल्न खोजिरहेको उल्लेख गर्दै त्यो पूरा नहुने बताए । उनले अहिलेको सरकारले छिमेकी देशसँग सुमुधुर र पारस्परिक सम्बन्ध राखेर अगाडि बढ्ने बताए ।

“हामी विदेशी हस्तक्षेप रुचाउँदैनौँ”, अध्यक्ष ओलीले भने । उनले सांसदहरुलाई गर्नुपर्ने काम प्राथमिकतामा राखेर गर्नुपर्ने निर्देशन दिए । उनले संसद्को अभ्यासमा भाग लिन नभ्याउने तथा बाहिर बाहिर जानेजस्ता काम नगर्नसमेत सचेत गराए । अध्यक्ष ओलीले जनताले अनुमोदन गरेर संसद्मा पठाएकाले सांसदहरुलाई जनताका पिरमर्काबारे संसद्मा आवाज उठाउन आग्रह गरे ।

कमेन्ट गर्नुहोस्
Share: