एम्नेष्टी ईन्टरनेशनल नेपालको नवौं नेशनल युथ मेला विहीबारदेखि

275
0
Share:

रञ्जन अधिकारी पोखरा, २७ फागुन / एम्नेष्टी ईन्टरनेशनल, नेपालको आयोजनामा पोखरामा विहीबारदेखि तीन दिने ‘नवौं नेशनल युथ मेला’ सुरु हुँदैछ । मानवअधिकार अभियानका निम्ति युवाहरुको दक्षता अभिवृद्धि गर्ने उद्देश्य अनुरुपम सन् २००७ देखि आयोजना हुँदै आएको मेला यस वर्ष पोखराको घारीपाटन स्थित चचहुई बुटिक रिसोर्टमा ३० गतेसम्म चल्नेछ । गत वर्ष जनकपुरमा आठौं नेशनल युथ मेला सम्पन्न भएको थियो । मेलामा मुलुकभरका ६२ युथ नेटवर्क मध्ये ४५ नेटवर्कबाट एक सय जना युवाहरु सहभागि रहनेछन् । ५५ बढि महिला सहभागी हुने बताईएको छ ।

युथ मेलामा सहभागी युवाहरुलाई मानव अधिकार, एम्नेस्टी इनरनेशनल र ए.आई नेपालको प्राथमिकतामा रहेका आप्रवासी श्रमिकको अधिकार, सत्य, परिपुरण र न्याय (दण्डहिनता सम्बन्धि अभियान) र यौन तथा प्रजनन् अधिकार विषयक ‘मेरो शरीर, मेरो अधिकार’ लगायतका अभियाानहरु बारेमा सैद्धान्तिक तथा व्यवहारिक जानकारीहरु दिलाउने उद्देश्य रहेको छ ।

विहीबार पहिलिो दिन ‘सुरक्षित आप्रवासनका लागि युवाको भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रम गरिने आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दियो । अध्यक्ष सूर्यबहादुर अधिकारीका अनुसार अन्तरसंवादमा वरिष्ठ मानवअधिकारकर्मी कृष्ण पहाडी, नेपाली काँग्रेसका नेता तथा सभासद् गगन थापा, नेकपा एमालेका नेता तथा सभासद् रविन्द्र अधिकारी, एम्नेस्टी इनरनेशनल अन्तर्राष्ट्रिय प्रतिनिधि क्लारा फोक र महिला मानवअधिकारकर्मी रेनुका पौडेल पनि सहभागी हुनेछन् ।

बढ्दो वैदेशिक रोजगारी र वैदेशिक रोजगारीका क्रममा उनीहरु चरम श्रम शोषण र ज्यादतिको शिकार हुनुपरेको यथार्थलाई उजागर गर्दै देशभर स्वयंसेवीका रुपमा क्रियाशील युवाहरु, राजनैतिक नेतृत्व र मानवअधिकारकर्मीका बीचमा हुने यस अन्तरसंवादले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउनमा सहयोग र युवालाई उत्साह जोगाउन टेवा पुग्ने उपाध्यक्ष प्रताप पौडेलले बताए ।

पूर्व अध्यक्ष कृष्ण कँडेलले जनाए अनुसार देशभरका ४१ जिल्लामा रहेका ७१ समूह र ६२ युथ नेटवर्कमा आबद्ध ६८०० बढि सदस्यहरु यस अभियानमा स्वयंसेवीका रुपमा क्रियाशील छन् । ६२ युथ नेटवर्क मार्फत चार हजार बढि युवाहरु आबद्ध भई मानवअधिकार सम्बन्धी विभिन्न क्रियाकलापमा संलग्न छन् ।

मेलामा युवाको नेतृत्व र व्यक्तित्व विकाससँग सम्बन्धित विषयहरुमा सैद्धान्तिक र व्यवहारिक ज्ञान, सीप र अभ्यास समेत हुने एआई नेपाल समूह ५४ पोखराका सचिव नबिन बरालले जानकारी दिए ।

 

 

कमेन्ट गर्नुहोस्
Share: