
काठमाडौं, चैत ४ – नेशनल मेडिकल कलेजले एमबिबिएसको कक्षा सञ्चालनका लागि तत्काल सम्बन्धन दिन त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)सँग माग गरेको छ ।
कलेजले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सर्वोच्च अदालतको आदेश तथा शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको पटक पटकको निर्देशनका वाबजुद पनि आइओएमले सम्बन्धन रोकेर आफूमाथि अन्याय गरेको भन्दै तत्काल सम्बन्धन नदिइए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
कलेजका प्रबन्ध निर्देशक डा. बसारुद्धिन अन्सारीले आइओएमले सम्बन्धन रोक्दा आफ्नो अर्बौ रुपैयाँको लगानी जोखिममा परेको बताउनुभयो । नेशनल मेडिकल कलेजले २०६८ सालको साउन ११ गते शिक्षा मन्त्रालयबाट मनसाय पत्र लिएर सम्बन्धनका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको थियो ।
नयाँ मेडिकल कलेज खोल्न नहुने माग गर्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सक गोविन्द केसी आमरण अनसन बसेपछि आइओएमले सम्बन्धन रोकेकामा सर्वोच्च अदालतले गएको भदौ ३१ गते सम्बन्धन नरोक्न शिक्षा मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, त्रिभुवन विश्वविद्यालय र आइओएमका नाममा परमादेश जारी गरेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले कात्तिक १३ गते सर्वोच्चको फैसला कार्यान्वयन गर्न शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएकामा तथा शिक्षा मन्त्री चित्रलेखा यादवले फागुन ६ गते त्रिभुवन विश्वविद्यालयलाई र त्रिभुवन विश्वविद्यालयले फागुन १७ गते आइओएमलाई सम्बन्धन नरोक्न निर्देशन दिएकामा आइओएमले सम्बन्धन दिन मानेको छैन ।
