एक वर्षदेखि ओडारको बास

149
0
Share:

पर्वत : बेनी नगरपालिका ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन्। 

बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विकले त्यही सडक छेउको ओडारलाई एक वर्षदेखि आश्रयस्थल बनाएका छन्।

छोराहरूको मृत्यु भएको, श्रीमतीले दोस्रो विवाह गरेको र आफन्तले हेलाँ गरेपछि ओढारमा बस्नुपरेको राहुलले बताए। “शक्ति र उमेर हुँदासम्म ३५ वर्ष भारतमा काम गरेँ”, उनले भने, “गाउँ फर्किँदा साथ दिने कोही भएनन्। हेलाँ गर्न थालेपछि घर छाडेर ओडारमा बस्न थालेँ।”

उनी कन्दमूल खोज्ने र मागेर ल्याएको अन्नबाट दैनिकी चलाउँछन्। सो ओडार बेनी बजारबाट करिब एक किलोमिटर नजिकको दूरीमा छ। सडकको कान्लामाथिको सानो ओडारमा फाटेका कपडा ओछ्याएर सुत्ने गरेका छन्। शारीरिक कमजोरीका कारण श्रम गर्न नसक्ने राहुल बोल्न र कुराकानी गर्न भने सक्छन्।

काम गर्न नसक्ने भएकाले कसैले दिएको तथा मागेर भेटेको आफैँले पकाएर खाने गरेका कुरिलाखर्कका सुरेश ढुंगानाले बताए। “मेरो भैँसी फार्मसँगै जोडिएको ओडारमा बस्न थालेको वर्ष दिन भयो”, उनले भने, :काम गर्न सक्दिनँ । मलाई यही ठिक छ भन्नुहुन्छ।”

ढुङ्गानाको भकारो छेउको गोलभेँडा टिपेर तरकारी बनाउने राहुल अरु खाद्यान्न माग्न बजार पुग्छन्। दिउँसो घाम लागे पनि राति सिधैँ चिसो हावा ओडारमा छिर्छ । त्यति मात्र होइन मागेर जुटाएको खाद्यान्न बाँदरबाट जोगाउनै हम्मे पर्छ । रातमा चितुवाको समेत डर छ ।

बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले राहुललाई ओडारबाट घरमा पठाउने प्रयास गरे पनि नमानेको बताइन्। “ओडारमा बसेको थाहा पाएलगत्तै खोजीनीति गरेको हो”, उनले भने, “अन्त जाने ठाउँ छैन। यहाँबाट नपठाउनु भनेर मान्दै मान्दैनन्। “

कमेन्ट गर्नुहोस्
Share: