गृहमन्त्रीको निर्णय प्रधानमन्त्रीले २४ घण्टामै उल्टाए

Share:

४ चैत, काठमाडौं । गृहमन्त्रालयले गरेको मोरङका प्रमुख जिल्ला अधिकारीको सरुवा प्रधानमन्त्री सुशील कोइरालाले २४ घण्टा नपुग्दै उल्टाइदिएका छन् । गृह मन्त्रालयले मंगलबार मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीलाई मकवानपुर सरुवा गर्ने निर्णय गरेको थियो । तर, नेपाली कांग्रेसको शक्ति लगाएर प्रजिअ कार्की आफूलाई मोरङमै थमौती गर्न सफल भएका छन् ।

प्रधानमन्त्री सुशील कोइरालाले बुधबार गृहमन्त्रीसँग गम्भीर आपत्ति जनाएपछि कार्कीलाई सरुवा गर्ने निर्णय उल्टिएको हो । कार्की मोरङबाट नहटेपछि उदयपुरबाट मोरङ सरुवा गरिएका रामप्रसाद थपलिया अब मकवानपुरको प्रजिअ बन्ने भएका छन् ।

गृहमन्त्रीको निर्णय २४ घण्टामै उल्टाउन सक्ने मोरङका प्रजिअ कार्की ओखलढुंगाका कांग्रेस नेता बालाराज कार्कीका छोरा हुन् । प्रधानमन्त्रीले आपत्ति जनाएका कारण अब उदयपुरमा अर्को प्रजिअ खोज्नुपर्ने भएको छ । यसका लागि बुधबार गृहमन्त्रालयमा छलफल भइरहेको छ ।

– Onlinekhabar बाट

कमेन्ट गर्नुहोस्
Share: