मानव बेचबिखन गर्न वीरगञ्ज नाकाको प्रयोग बढ्दो

233
0
Share:

पर्सा : पछिल्लो समय पर्साको वीरगञ्जस्थित नाका मानव बेचबिखनका लागि मुख्य ‘ट्रान्जिट प्वाइन्ट’ बन्न थालेको छ । मानव तस्करले बेचबिखन गर्ने उद्देश्य राखेर आफै विवाह गर्ने वा भारतीय नागरिकसँग विवाह गराईदिनेलगायत प्रलोभनमा पारी बालबालिका, किशोरी तथा महिलालाई उक्त नाका हुँदै भारतका विभिन्न सहरमा पुर्‍याउने गरेको पाइएको छ ।

पर्सामा मानव बेचबिखनको घटनासम्बन्धी पछिल्लो तथ्यांकअनुसार पछिल्लो छ महिनाको अवधिमा ७३  जनाको भारतका विभिन्न ठाउँबाट प्रहरीले उद्धार गरी नेपाल फर्काएको छ । चालु आर्थिक वर्ष २०७९÷८० को साउनदेखि पुस मसान्तसम्ममा भारतको विभिन्न स्थानबाट ५९ महिला र १४ बालिकाको उद्धार गरिएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

आव २०७८÷७९ मा पर्सा प्रहरीले भारतको विभिन्न सहरबाट एक सय ११ महिला, ४१ बालिका र ३८ बालकको उद्धार गरेको थियो । आव २०७७÷७८ मा ८५ महिला, २२ बालिका र एक बालकको उद्धार गरिएको गिरीले बताए । आव २०७८÷७९ मा एक सय आठ महिला, एक सय ३३ बालिका, ४५ बालक र चार ज्येष्ठ नागरिक पर्साबाट हराएको उजुरी दर्ता भएकामा  एक सय पाँच महिला, एक सय आठ बालिका, ४३ बालक र तीन ज्येष्ठ नागरिक फेला परेका प्रहरीले जनाएको छ ।

आव २०७७÷७८ मा वीरगञ्ज नाका हुँदै पर्सामा ६५ महिला, ३१ बालक, ९३ बालिका र सात ज्येष्ठ नागरिक हराएका प्रहरीमा उजुरी परेको थियो । तीमध्ये ६१ महिला, २९ बालक, ९० बालिका र सात ज्येष्ठ नागरिक फेला परेका प्रहरीको तथ्यांकमा उल्लेख छ ।

बेचबिखनमा परेका बालबालिका, किशोरकिशोरी तथा महिलाको उद्धारमा  कठिनाइ हुने गरेको मानव उद्धारमा सक्रिय संरक्षण नेपालका अध्यक्ष वृजमोहन कुश्वाहाले बताए ।  दुवै देशको ऐन प्रभावकारी नभएकाले उद्धारमा कठिनाइ भइरहेको छ”, उनले भने । संरक्षण नेपालका पारस प्रसादले चालु आवको छ महिनामा ३७ बालक र १८ बालिकाको भारतका विभिन्न संघ संस्था प्रहरीसित समन्वय गरी उद्धार गरिएको जानकारी दिए ।

भारतको मोतीहारीस्थित जिल्ला बालसंरक्षण कार्यालयकी सहायक निर्देशक ममता झाले बालबालिका, किशोरी तथा महिलालाई विभिन्न बाहाना तथा प्रलोभनमा पारेर भारतका विभिन्न स्थानमा पुर्‍याउने गरिएको पाइएको बताइन् । “उद्धारमा दुवै देशको नीतिनियम तथा ऐन बाधक बन्ने गरेको छ”, उनले भनिन् ।

कमेन्ट गर्नुहोस्
Share: