पोखरा, चैत ६ / नेपाली नयाँ वर्षका अवसरमा आयोजना हुन गइरहेको फेवा नव वर्ष महोत्सवलाई सफल पार्न पश्चिमाञ्चल होटल संघ पोखराले त्यसअघि ‘जाउँ है पोखरा अभियान संचालन गर्ने भएको छ। चैत ८ गतेदेखि १२ गतेसम्म संचालन हुने अभियान अन्तर्गत दोलखा, काठमाडौं, जनकपुर र विरगंजलाई समेटिएको संघका अध्यक्ष भरतराज पराजुलीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
अभियान अन्तर्गत उल्लेखित शहरहरुमा पोखरा सम्वन्धि व्रोसर वितरण, पोष्टर र स्टिकर उपयुक्त ठाउँमा टाँस्ने र लक्ष्क्षीत समूह छनौट गरी सीडी वितरण गर्ने योजनामा संघ रहेको छ। सरोकारवालाहरुसँग छलफल गरी सुझाव आदानप्रदान गर्ने कार्यक्रम पनि रहेको छ। संघले विगत केही वर्षदेखि यस्तो प्रचारात्मक अभियानलाई फेवा नव वर्ष महोत्सवसँग जोडेर अगाडि बढाउँदै आएको छ। फेवा किनार स्थित वसुन्धरा पार्कमा आयोजना हुने महोत्सवमा पर्यटन, संस्कृति र खानाको पाटोलाई मुख्य केन्द्रमा राख्दै फेवा तालको संरक्षण गर्ने उद्धेश्य लिइएको महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए।
फेवा तालको संरक्षणमा संघले दुई वटा डुंगा र कर्मचारीको व्यवस्था गरेर जलकुम्भी लगायतका झार हटाउने काम गर्दै आएको छ। यही चैत २८ देखि वैशाख २ गतेसम्म वसुन्धरा पार्कमा फेवा नव वर्ष महोत्सव संचालन हुने छ। महोत्सवका अवसरमा संघले खानामा १० प्रतिशत र होटलको विस्तारामा १५ प्रतिशत छुटको व्यवस्था पनि गरेको छ। महोत्सवलाई नै लक्षित गरी विभिन्न मूल्य र दर भएका इकोनोमी, स्ट्याण्डर्ड र डिलक्स नामका प्याकेज समेत विकास गरिएको अध्यक्ष पराजुलीले जानकारी दिए।
संघका सल्लाहकार विश्वशंकर पालिखेले यसपटकको महोत्सवमा चीनको फुजियानबाट कलाकारको सांस्कृतिक टोली र व्यापारिक समूहले समेत सहभागिता जनाउने बताए। उनले गोञ्जाउ, लिञ्जी र कुनमिङ जस्ता चिनिया शहरसँगको पोखरेली सम्बन्धले पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने बताए। तेह्र वर्ष अघि द्वन्द्वकालमा सुरुवात गरिएको जाउँ है पोखरा अभियानलाई २०६८ सालमा सूर्योदयको जिल्ला इलामबाट पुनः निरन्तरता दिइएको थियो ।
