
चितवन : चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा दुई सय १४ दुर्घटना भएका छन् । जिल्लामा भएका दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको छ । ती दुर्घटनामा परी चार सय एक घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्लामा भएका दुर्घटनामध्ये सबैभन्दा धेरै भित्री सडकमा दुर्घटना भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।
तथ्याङ्कअनुसार भित्री सडकमा एक सय छ वटा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम लोकमार्गमा ४८, नारायणगढ–मुग्लिन सडकखण्डमा ३७, पृथ्वी राजमार्गमा १४ र शहरी सडकखण्डमा नौ दुर्घटना भएको कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङका अनुसार सवारी दुर्घटनामा परी मृत्यु हुनेमा सबैभन्दा बढी पुरुष रहेका छन् । चालीस पुरुषको मृत्यु भएको उनले जानकारी दिए । त्यस्तै पाँच महिला, दुई बालक र दुई बालिकाको पनि दुर्घटनामा परी मृत्यु भएको छ ।
