
काठमाडौं, चैत १२ / अष्ट्रेलिया विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार भएको दोश्रो सेमिफाइनल खेलमा भारतलाई ९५ रनले हराउँदै अष्ट्रेलिया फाइनलमा पुगेको हो ।

सिड्नीमा भएको खेलमा अष्ट्रेलियाले दिएको ३ सय २९ रनको लक्ष्य पछ्याएको भारतले ४६ दशमलव ५ ओभरमा २ सय ३३ रन मात्र बनाउन सक्यो । भारतका लागि कप्तान महेन्द्र सिंह धोनीले ६५ रन बनाए । शिखर धवनले ४५ र अजिन्क्या रहाणेले ४४ रन बनाउन बाहेक अन्य कुनै ब्याट्समेनले राम्रो प्रर्दशन गर्न सकेनन् । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ७ विकेट गुमाउदै ३ सय २८ रन बनाएको थियो ।
अष्ट्रेलियका एरोन फिन्च र स्टेफन स्मिथले दोश्रो विकेटका लागि १ सय ८२ रनको साझेदारी गरेका थिए। स्मिथले ९३ बलमा १ सय ५ र फिन्चले १ सय १६ बलमा ८१ रन बनाए । भारतका स्पिनर फिका भएको खेलमा उमेश यादबले ४,मोहित सर्माले २ र रविचन्द्रन आश्विनले १ विकेट लिए ।
भारतीय खेलाडीका घरको सुरक्षा व्यवस्था कडा
विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पराजित भएसँगै भारतीय खेलाडीको घर वरपरको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रतियोगितामा भारत अष्ट्रेलियासँग ९५ रनले पराजित भएपछि सम्भावित घटनालाई ध्यानमा राख्दै खेलाडीको घरमा सुरक्षा व्यवस्था कडा बनाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
यसअघि गएको वर्ष भएको ट्वेन्टी–ट्वेन्टी विश्कपमा श्रीलंकासँग पराजित भएपछि भारतीय खेलाडीको घरमा आक्रमण तथा प्रदर्शन भएको थियो ।
