पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालको सरुवा

Share:

पोखरा १२ चैत्र । पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालको सरुवा भएको छ । पोखरा आएको पाँच महिना पनि नबित्दै उनको नुवाकोट सरुवा भएको हो । उनको ठाउँमा उदय राना मगर आउने भएका छन् । बराल बुधबार दिउँसो मात्र फिलिपिन्सको भ्रमण पछि नेपाल फर्केका थिए ।

mahesh-baral-480x430

स्रोतले भने राजनीतिक खिचातानीमा परेकाले उनको सरुवा भएको जानकारी दियो । स्थानीय विकासमन्त्रीसँग निकट रहेका केही व्यक्तिको चलखेलका कारण उनको सरुवा भएको हो । उनलाई वामपन्थीको आरोप लगाएर सरुवा गरिएको हो । तर, उपमहानगरपालिकाका एक अधिकृतले चाहिँ उनी कुनै ‘वाद’को पछि लाग्नेभन्दा पनि एक सक्षम र सबैलाई मिलाएर लैजाने स्वभावका भएको बताए । यही स्वभाव नै उनको लागि घातक साबित बन्न पुग्यो ।

विभिन्न गुट र उपगुट तथा चरम राजनीतिकरणको मारमा परेको उपमहानगरपालिकाका केही अधिकृतहरुले आफूलाई असहयोग गर्दै आएको बराल स्वयंले बताएका थिए । उनले उपमहानगरपालिकाको आन्तरिक सुदृढिकरणका लागि केही नीतिगत र दीर्घकालीन योजनाहरु पनि थालेका थिए । पोखरा उपमहानगरपालिकामा बराल आएपछि उनले मित्रराष्ट्र चीनका केही सहरहरुसँगको सम्बन्ध सुधार गरेका थिए । ‘वान क्लिक पोखरा’ भन्ने नाराका साथ प्रविधीमैत्री नगर बनाउने पनि उनको योजना थियो ।

‘आफ्नो विषयमा उहाँ ज्ञाता हुनुहुन्थ्यो’, कार्यकारी अधिकृतसँगै फिलिपिन्स गएका उपमहानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेलले भने ‘उहाँजस्तो मान्छेलाई हटाउनु भनेको असल मान्छेलाई काम गर्न नदिनु नै हो ।’आफूले कार्यकारी अधिकृतलाई हर क्षणमा सहयोग गरेको बताउँदै उनले बरालको थमौतिको प्रयत्न गरिने पनि बताए ।

कमेन्ट गर्नुहोस्
Share: