
चितवन, चैत १२–चितवनमा पछिल्लो पटकको स्वाइन फ्लुको पीसीआर परीक्षणको रिपोर्ट अनुसार थप १६ जनामा स्वाइन फ्लु लागेको पुष्टि भएको छ । बुधबार जिल्ला जनस्वास्थ्य कार्यालय चितवनमा आएको पीसीआरको नतिजा अनुसार चितवनका १२, नवलपरासीको तीन र कास्कीको एक जनामा स्वाइन फ्लु भएको पुष्टि भएको हो ।
भरतपुर अस्पतालबाट पठाइएको ३८ जनाको नमुना परीक्षणमा १६ जनालाई स्वाइन फ्लु लागेको पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले बतााए । भरतपुर अस्पतालबाट हरेक सोमबार र बिहीबार द्रुत परीक्षणपछि स्वाइन फ्लुको थप परीक्षण गर्न राष्ट्रिय प्रविधि परीक्षण प्रयोगशाला टेकु काठमाण्डौमा पीसीआर पठाइदै आइएको छ । अस्पतालबाट हालसम्म दुई सय ९९ जनाको पीसीआर परीक्षणको लागि काठमाण्डौ पठाइएकोमा ९५ जनामा स्वाइन फ्लु देखिएको छ ।
भरतपुर अस्पतालबाट भेटिएका स्वाइन फ्लुका बिरामीमध्ये ८० जना चितवनका, १० जना नवलपरासीका तथा कास्की, गोरखा, रुपन्देही, पर्सा र तनहूंका एक एकजना रहेको केसीले जानकारी दिए । पाँच वर्षभन्दा माथिका बालबालिका र ६५ वर्षभन्दा कम उमेरका मानिसहरुको स्वाइन फ्लु परीक्षण गर्न पठाइने गरेको केसीले बताए । बुधबार आएको पछिल्लो तथ्यांक अनुसार ४३ जना पुरुष र ५२ जना महिलामा स्वाइन फ्लुको लक्षण देखिएको केसीले बताए । भरतपुर अस्पतालबाट नमुना परीक्षण गर्दा स्वाइन फ्लु लागेका बिरामीमध्ये तीन जनाको बिरामीको भरतपुर अस्पतालमा रहेको आइसुलेसन वार्डमा उपचार भइरहेको केसीले जानकारी दिए । प्रत्येक वर्ष जाडो सयम सकिएर गर्मी महिना सुरु हुने बेलामा स्वाइन फ्लुका प्रकोप देखिने गरेको छ । चितवनमा २०७० मा ११ जना र ६९ मा १० जनामा स्वाइन फ्लु देखिएको थियो ।
यसैबीच स्वाइन फ्लूको बारेमा सचेतना फैलाउनको लागि भरतपुर अस्पतालमा स्थापना गरिएको स्वाइन फ्लू सहायता कक्ष प्रभावकारी बन्दै गएको जिल्ला जन स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । चितवनमा स्वाइन फ्लूको प्रकोप बढ्दै गएपछि गत फागुन २८ गते सहायता कक्ष स्थापना गरिएको थियो ।
अहिले उक्त कक्षबाट दैनिक ३५ जना भन्दा बढि सर्वसाधारणले स्वाइन फ्लूको बारेमा परामर्श लिने गरेको जिल्ला जन स्वास्थ्य कार्यालय चितवनका परामर्शदाता केशवराज सापकोटाले जानकारी दिए ।
स्वाइन फ्लूको संका लागेका बीरामीहरु सहायता कक्षमा परामर्शको लागि आउने गरेका सापकोटाले बताएका छन् । सहायता कक्षबाट परामर्शमा आउने व्यक्तीहरुलाई स्वाइन फ्लूको लक्षण, जोगिने उपायको बारेमा जानकारी दिइने सापकोटाले बताएका छन् । लगातार जिउ दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने, घांटी दुख्ने लगायतका समस्या देखीएमा स्वाइनफ्लू लागेको हुन सक्ने सापकोटाले बताए । जाडो सकिएर गर्मी सुरु हुने बेलामा स्वाइन फ्लूको जिवाणुहरु सक्रिय हुने सापकोटाले जानकारी दिएका छन् ।
स्वाइन फ्लूबाट जोगिनको लागि भिडभाड भएको ठाउंमा नजान, मास्क लगाएर हिंड्न, बढी मात्रामा पानी पिउनको लागि जिल्ला जन स्वास्थ्य कार्यालय चितवनले आग्रह गरेको छ । स्वाइन फ्लू लागेका बीरामीको उपचारको लागी भरतपुर अस्पतालमा आइसुलेसन वार्डको समेत व्यवस्था गरिएको छ । स्वाइन फ्लू लागेका बीरामीका लागि भरतपुर अस्पतालबाट नि शुल्क उपचार हुदैं आएको छ । स्वाइन फ्लूको परीक्षण चितवनमा भरतपुर अस्पतालबाट मात्रै हुदैं आएको छ । अस्पतालको आकस्मिक सेवा सगैं संचालन गरिएको स्वाइन फ्लू सहायता कक्षबाट बिहान ९ बजेदेखी दिउंसो ३ बजे सम्म परामर्श दिइंदै आएको छ ।
