
काठमाडौं, चैत १६ – प्लाष्टिक उद्योगीले आउँदो वैशाख १ गतेदेखि प्लाष्टिकका झोलामा प्रतिबन्ध लगाउने सरकारी निर्णय कुनै पनि हालतमा नमान्ने चेतावनी दिएका छन् । प्लाष्टिक उद्योगीले सोमबार विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले सिंहदरबारमा गरेको कार्यक्रममा उपस्थित भएर मन्त्रालयको निर्णय नमान्ने चेतावनी दिएका हुन् ।
प्लाष्टिक वस्तु उत्पादक संघका महासचिव राम सेढाईंले मन्त्रालयले बिना तयारी हचुवाका भरमा प्लाष्टिकका झोलामा प्रतिबन्ध लगाउने निर्णय गरेको आरोप लगाउँदै अर्बौं रुपैयाँको लगानीको सुरक्षा बिना सरकारी निर्णय मान्न नसक्ने बताउनुभयो ।
संघका महासचिव केसीले विभिन्न राजनीतिक दलका सभासद र विभिन्न मन्त्रालयका सचिव तथा सहसचिवका सामुन्ने कोइला, खानी, धुवाँयुक्त इन्जिनभन्दा प्लाष्टिकका झोलाले वातावरणमा कसरी असर पार्छ भनेर प्रमाणित गर्न चुनौती समेत दिनुभयो ।
प्लाष्टिक व्यवसायीले चाउचाउ, तेल, नुन लगायतका वस्तु प्लाष्टिकका प्याकेटमा हालेर बिक्री गर्न पाइने तर प्लाष्टिकका झोला बोक्न नपाइने भन्ने सरकारी निर्णय पूर्वाग्रही भएको बताए । छलफलमा सहभागी सभासदले पनि प्लाष्टिक उद्योगीकै पक्षमा बोले ।
नेकपा एमालेका सभासद केशव बडालले ३५ अर्ब रुपैयाँ लगानी भएको र झण्डै १० हजार मजदुर कार्यरत रहेको व्यवसायको विकल्प नै नसोची प्लाष्टिकका झोलामा प्रतिबन्ध लगाउन खोजिनु व्यवहारिक र न्यायसंगत नभएको बताउनुभयो ।
विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले आगामी वैशाख १ गतेदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा प्लाष्टिकका झोला बोक्न नपाउने निर्णय केही पहिना पहिले नै गरेको हो । छलफलमा स्थानीय विकास मन्त्रालयका सचिव डा. सोमलाल सुवेदीले निर्णय कार्यान्वयनका लागि आमजनतामा सचेतना फैलाइनुपर्ने बताउनुभयो ।
उहाँले प्रचारप्रसार नै नगरी जरिवाना तिराउन खोजिए निर्णय कार्यान्वयन हुन नसक्ने बताउनुभयो । हाल काठमाडौं उपत्यकामा दैनिक ४७ लाख वटा प्लाष्टिकका झोला प्रयोग हुने गरेको अनुमान छ ।
