हिलारी क्लिन्टनले राष्ट्रपतिको चुनाव लड्ने

Share:

अमेरिका, चैत्र ३० / अमेरिकाकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले राष्ट्रपति पदका लागि चुनाव लड्ने घोषणा गरेकी छन् । उनले आइतबार राष्ट्रपतिका लागि चुनाव लड्ने घोषणा गर्दे सहयोगका लागि अपिल गरेकी छन् ।

हिलारीले उनको प्रचारका लागि खोलिएको आधिकारिक वेबसाइटमा भनेकी छन्, ‘म राष्ट्रपति पदका लागि चुनाव लड्छु। हरेक दिन अमेरिकी जनताका लागि एक विश्वासिलो साथीको खाँचो छ । त्यो साथी म बन्न चाहन्छु ।’

हिलारीले सन् २०१६ को राष्ट्रपति चुनाव अभियानसँग जोडिएको पहिलो भिडियोमा धनाढ्यहरुलार्इ मात्र फाइदा भइरहेको जनाएकी छन्।

‘अमेरिका आफ्नो कठिन आर्थिक हालतबाट माथि आइसकेको छ’, उनले भनेकी छन्, ‘तर अहिले पनि केबल माथिल्लो तहका धनाढ्यहरुलार्इ मात्र आर्थिक लाभ मिलिरहेको छ ।’

सन् २००८ मा उनले डेमोक्र्याट्स पार्टीको तर्फबाट राष्ट्रपतिका लागि दाबेदारी प्रस्तुत गरेकी थिइन् । तर बाराक ओबामासँग हार झेल्नुपर्यो ।

हिलारीको खेमाले ब्रुक्लिन हाइट्समा आफ्नो नयाँ चुनावी अड्डा समेत खोल्ने सहमतिपत्रमा हस्ताक्षर गरिसकेको छ । यो उनको चुनाव प्रचार अभियानको मुख्यालयका रुपमा रहनेछ ।

कमेन्ट गर्नुहोस्
Share: