
रञ्जन अधिकारी पोखरा, ३० चैत । पोखरा ५ जिरोकिलोमिटरमा सोमबार बेलुकी बसले किचेर पैदलयात्रीको मृत्यु भएको छ । ग १ ख ५४५४ नम्बरको बसले किचेर गुल्मी बलेटक्सार गाविस वडा न.ं ५ का बलराम गन्धर्वको ज्यान गएको हो ।
बेलुकी ८ः०५ बजेको समयमा सारंगी भिरेर सडक छेउ उभिएका २५ वर्षीय गन्धर्वले घर जानका लागि माईक्रोबस रोक्ने क्रममा सोहि बसले किचेर ज्यान गएको कास्की प्रहरी प्रवक्ता डिएसपी केदार रजौरेले जानकारी दिए । ‘घरमा थन्क्याउनका लागि जान लागेको बसले नरोकेको हुनसक्छ । रोक्ने क्रममा सोहि बसले किचेको जानकारी आयो ।’ रजौरेले भने– ‘उनको साथमा रहेको सारंगीमा लेखिएको नामले उनको पहिचान भएको हो ।’
बसले किचेपछि अचेत उनलाई तुरुन्त सर्वसाधारणले ट्याक्सीमार्फत अस्पताल पठाएकोमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल नआईपुग्दै ज्यान गएको प्रहरी हवल्दार सुजन घिमिरेले जानकारी दिए । मृतक गन्धर्वले आमाको क्यान्सर भएको पुष्टि गरेको गाविसको पत्र लिएर गीत गाउँदै पैसा संकलन गर्दै हिँडेको उनको शरीर खानतलासीका क्रममा पाईएको उनले बताए । मृतकका आफन्त सम्पर्कमा आईसकेका छैनन् ।
