
काठमाण्डु, ६ वैशाख / एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चिनियाँ कम्युनिष्ट पार्टीको एक प्रतिनिधि मण्डलले भेट गरेको छ । चिनिया कम्युनिष्ट पार्टीको सान्जी प्रान्तका सचिव जिनाओ सेङयोङ नेतृत्वको टोलीले प्रचण्डलाई आइतबार उनकै निवास लाजिम्पाटमा भेटेको हो ।
भेटमा दुई देश तथा पार्टीगत सम्बन्ध र नेपालको संविधान निर्माण प्रक्रियाबारे कुराकानी भएको एमाओवादी नेता अग्नि सापकोटाले बताए । उनका अनुसार चिनिया पक्षले नेपालमा सहमतिमै संविधान जारी होस् भन्ने पक्षमा आफूहरु रहेको प्रष्ट्याएको छ ।
उनले संविधान निर्माण र मुलुककै नेतृत्व लिन प्रचण्डलाई आग्रह गरेको भेटपछि सापकोटाले संवाददाताहरुलाई जानकारी दिए । ‘सहमतिमै संविधान बनेर नेपाल समृद्धितर्फ अघि बढोस् भन्ने उहाँहरुको चाहना थियो’, सापकोटाले भने, ‘हाम्रो अध्यक्षलाई संविधान निर्माण गरेर सबैको नेतृत्वदायी भूमिका निर्वाह गर्नुस्, तपाईंले सक्नुहुन्छ भन्नुभयो ।’
सापकोटाका अनुसार चिनिया टोलीले सहमतिमा संधिवान निर्माण गरेर अघि बढे मात्र समृद्धिको बाटो खुल्ने भन्दै नेपालको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
उनले आफ्ना अध्यक्ष प्रचण्डले केही समयअघि गरेको चीन भ्रमण र उपराष्ट्रपतिलगायत उच्च अधिकारीसँग भएको भेटका बारेमा समेत छलफल भएको जनाए । जवाफमा प्रचण्डले सहमतिमा संविधान जारी गर्न भइरहेका प्रयासबारे जानकारी गराएका थिए । उनले पार्टी एकताका लागि भइहरेका प्रयासबारे समेत बताएका थिए ।
‘अध्यक्षले नेपालको राजनीतिक परिस्थित र संविधान निर्माण तथा पार्टीलाई एकताबद्ध गरेर जान भइरहेका प्रयासबारे जानकारी दिनुभयो’, उनले भने ।
सापकोटाका अनुसार प्रचण्डले चीनले नेपालको राष्ट्रियताको सम्मान गर्दै आएकामा धन्यवाद दिँदै एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहो¥याएका थिए । नेपाली भूमि चीनविरोधी गतिविधिमा प्रयोग गर्न नदिने प्रचण्डको प्रतिबद्धता थियो ।
