
रेम बिक पोखरा, ६ बैशाख । नीजि विद्यालयहरुले विद्यार्थी भर्नाको क्रममा मनपरी ढंगले शुल्क उठाएको खुल्न आएको छ । मनपरी शुल्क उठाएकै कारण कास्कीका विद्यार्थी संगठनहरुले ती विद्यालयहरु विरुद्ध आन्दोलन गर्ने भएका छन् । विद्यार्थी संगठनहरुसंगै आन्दोलनमा उपभोक्ता मञ्च कास्की र अभिभावक संघ कास्की पनि संलग्न हुनेछन् ।
आईतबार पोखरामा पत्रकार सम्मेलन गर्दै सात विद्यार्थी संगठनहरुले सँयुक्त आन्दोलनको घोषणा गरेका हुन् । कास्कीमा संचालित नीजि विद्यालयहरुले प्रावि तहको लागि १ हजार ८०, निमाबि तहको लागि ११ सय ५० र मावि तहको लागि १५ सय ५० रुपैयाँ भर्ना शुल्क तोकेको थियो । ‘तर कास्कीका अधिकांश नीजि विद्यालयहरुले यो शुल्कभन्दा धेरै शुल्क लिएर विद्यार्थीहरु भर्ना गरिरहेका छन् ।’ पत्रकार सम्मेलनको क्रममा नेविसंघका भानु ढकालले भने–‘त्यसैको विरोध गर्दै हामी आन्दोलिन हुन लागेका हौँ ।’
त्यस्तै विद्यार्थीहरुले दर्ता नभई चलेका शैक्षिक संस्थाहरु बन्द गराउने आन्दोलनको मुख्य लक्ष्य रहेको समेत खुलाए । जिल्ला शिक्षा कार्यालयका सहायक प्रमुख केदार आचार्यका अनुसार पोखरामा १ सय ८१ वटा शैक्षिक संस्था मात्रै दर्ता भएर चलेका छन् । यद्यपी उनैले दिएको जानकारी अनुसार पोखरामा २ सय २० भन्दा बढि शैक्षिक संस्थाहरु निर्वाध रुपमा चलेका छन् । ‘हामीले ती शैक्षिक संस्थाहरुलाई दर्ता प्रकृयामा आउन वा अवैधानिक रुपमा नचल्न पत्राचार गरिसकेका छौँ, त्यसो नभएको खण्डमा कारबाहि गर्नेछौँ ।’ उनले भने ।
यद्यपी विद्यार्थी संगठनका नेताहरुले भने जिल्ला शिक्षा कार्यालय र अवैधानिक रुपमा चलेका तथा मनपरी शुल्क उठाउँदै आएका शैक्षिक संस्थाबीच मिलेमतो भएका कारण यस्तो भैरहेको आरोप लगाउँछन् । ‘मिलेमतो भएकै कारण यस्ता शैक्षिक संस्थाहरु निर्वाध रुपमा चलिरहेका छन् ।’ अनेरास्ववियू कास्कीका अध्यक्ष शेखर गौतमले भने–‘यी संस्थाहरुको पहुँच राजनीतिक रुपमा पनि उच्च छ, त्यसैले हामीलाई कहिलेकाहीँ माथिबाटै दबाब समेत आउने गरेको छ ।’ विद्यार्थीहरुले पछिल्लो पटक गर्न लागेको आन्दोलनको क्रममा कहिँकतैबाट आउने दबाबलाई पन्छाउँदै अवैधानिक र मनपरी गर्ने शैक्षिक संस्थालाई तह लगाउने उनले बताए ।
पछिल्लो पटक विभिन्न शैक्षिक संस्थाहरुले अनुबन्ध लिएको तहभन्दा धेरै तहसम्म भर्ना लिँदै आएका छन् भने मन्टेश्वरीहरुले पनि कक्षा पाँचसम्मको पढाई गर्दै आएका छन् । विद्यार्थीहरुले दाबी गरेअनुसार करिब ७५ प्रतिशत मन्टेश्वरीले विना दर्ता कक्षा संचालन गर्दै आएका छन् । अझै कतिपय त दर्तासम्म पनि भएका छैनन् । उनीहरुका अनुसार पोखरामा करिब साढे २ सयको हाराहारीमा मन्टेश्वरीहरु संचालनमा रहेका छन् ।
विद्यार्थीहरुले यो समस्या समाधान नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् । यो बीचमा त्यस्ता मनपरी शुल्क लिने र अवैधानिक रुपमा चल्ने शैक्षिक संस्थाहरुमा तोडफोड तथा आगजनी सम्म हुन सक्ने उनीहरुले बताएका छन् ।
