
पोखरा, ७ बैशाख । बर्षाको समय हिलो र लेदो पानी आउने र अघिपछि दुषित पानी आउने पोखरेलीको धारामा अबको तीन बर्ष भित्र शुद्ध पिउने पानी आउने भएको छ । पानी शुद्धिकरणको लागि जापान अन्तराष्ट्रिय सहयोग निकाय (जाईका) ले ३ अर्व सहयोग दिने भएपछि खानेपानी शुद्धिकरण र सुदृढिकरणको काम अघि बढ्ने भएको हो । खोलाको पानी सिधै रिजर्भ ट्याङकी सम्म ल्याउने र बिना शुद्धिकरण उपभोक्ताको धारामा पठाउदा पोखरेलीले दुषित पानी पिउन बाध्य थिए ।
पोखराको खानेपानी ब्यबस्थापनमा यसअघि पनि सहयोग गरेको जाईकाले पानी शुद्धिकरण र सुदृढिकरणको लागि २९ मिलियर डलर अर्थात् दुई अर्व ९० करोड रुपैया अनुदान दिने सम्झौता गरेको छ । दुई साता अघि नेपाल सरकारका तर्फबाट सहरी विकास मन्त्रालयका सहसचिव रामचन्द्र देवकोटा र जापान सरकारको तर्फबाट जापानी सहयोग नियोग (जाइका)का वरिष्ठ सल्लाहकार सिगेयुकी मात्सु मोटोले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
यसअघि सन् २००४ मा मर्दीको मुहानदेखि पोखराको विन्ध्यवासिनीसम्म ११ किलोमिटर लामो २० इन्च डक्ट आइरन पाइप जापान सरकारको सहयोगमा बिछ्याइएको थियो । सम्झौता अनुसार अबको ९ महिना डिजाईन फेज हुने र तीन बर्षभित्र आयोजना सम्पन्न हुनेछ । अनुदान रकम पानी सुद्धिकरणको लागि ट्रिटमेण्ट प्लान्ट निर्माण र पाईपलाईन बिस्तारमा खर्च हुनेछ । जाईका संगको सहमति अनुसार पोखराको मुख्य खानीपानीको मुहान मर्दी खोलाबाट आउने पानीको प्रशोधन केन्द्रको अध्ययन तथा बिस्तृत डिजाईन र निर्माण गर्ने, सेति र मर्दी किनारका पाइप बचाउ गर्ने, उत्पादित पानीलाई उपभोक्ता सम्म लैजान बितरण प्रणालीमा सुधार ल्याउने र खानेपानी सुदृढिकरणको लागि आबश्यक जग्गा खानेपानी संस्थानले उपलब्ध गराउने उल्लेख छ ।
नेपाल खानेपानी संस्थानका अध्यक्ष डा. परमेश्वर पोखरेलका अनुसार पोखरामा खानेपानी आउने तीन ओटा मुहान मध्य मुख्य मर्दीखोला मुहानबाट आउने पानी प्रशोधनको काम यो आयोजना अन्तर्गत हुनेछ । मर्दीको पानी चार ओटा स्थानमा ‘वाटर ट्रिटमेण्ट प्लान्ट’ बनाएर शुद्धिकरण गरिन्छ । यसरी ल्याईएको पानी उपभोक्ताको घरघरमा आईपुग्दा डब्लुएचओ मापदण्ड अनुसार मिनरल वाटर सरह शुद्ध हुनेछ । अहिले पोखरेलीले प्रयोग गरिरहेको पिउने पानी खोलाबाट सिधै रिजर्भ ट्याङकमा ल्याएर क्लोरिनेशन मात्रै गरी उपभोक्ताको धारामा पठाईन्छ ।
नयाँ सम्झौता अनुसार कालमुढा, भोटीखोला र बालधाराबाट पोखरामा वितरण हुने पानीको प्रशोधन खानेपानी संस्थानले गर्ने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । पोखरामा अहिले दैनिक साढे चार करोड लिटर खानेपानीको माग भएपनि साढे तीन करोड लिटर खानेपानी मात्र वितरण हुँदै आएको संस्थान पोखराका अधिकृत दिनेश कुमार यादवले जानकारी दिए ।
बितरण प्रणाली प्रभाबकारी नहुदा सबै क्षेत्रमा समान रुपमा खानेपानी आपूर्ति हुन सकिरहेको छैन । बितरण सहज बनाउन पोखरामा ६९ किलोमिटर पाइपलाईन बिस्तारको काम बाकी छ । मेन लाइन बिस्तारको लागि थप २२ करोड ऋण माग गरिएको अध्यक्ष पोखरेलले बताए । जस अनुसार जिरो किलोमिटरदेखि अमरसिंहचोक सम्म २० इन्च पाइप बिस्तार हुनेछ । जिरो किलोमिटरबाट छोरेपाटन, अमरसिंहचोकबाट चाउथेसम्म १० इन्चको पाइपलाइन बिस्तारको काम हुनेछ । यसैगरी अमरसिंहचोकबाट वडानम्बर १८ छिनेडाडा तथा वडानम्बर १४ मझेरीपाटन सम्म ६ इन्चको पाइपलाइन बिस्तार गरिनेछ ।
खानेपानी संस्थानका अनुसार पोखरामा खानेपानी ब्यबस्थापनको लागि चार करोड रुपैयाको लागतमा मर्दी बाध तथा पाइप बचाउको लागि निर्माण कार्य भैरहेको छ । एक करोड लागतमा निर्माणाधिन डिप ट्युवेल तथा घारिकुलो खानेपानी योजनाबाट वडानम्बर १७ मा खानेपानीको समस्या हट्ने बिश्वास ब्यक्त गरिएको छ ।
साविक हेम्जा गाबिस र हालको पोखरा उपमहानगरपालिका वडानम्बर २७ मा खानेपानी उत्पादन आपूर्तिको सहज ब्यबस्थाको लागि उत्पादन, प्रशोधन र वितरणको लागि चार करोड रुपैया बजेट ब्यबस्था गरी निर्माण कार्य सुरु भएको संस्थानले जनाएको छ । यो योजनाबाट हेम्जाका पाच हजार घरधुरी लाभाम्बित हुने अनुमान गरिएको छ ।
वितरण प्रणालीलाई सुधार गर्न प्रस्र्याङसम्म रहेको २० इन्चको पाइप जिरो किलोमिटर सम्म बिस्तार गर्न लागिएको, वडानम्बर १०, १४ र १८ मा ट्युवेल निर्माणको लागि बजेट छुट्याईएको तथा ११, १२ र १३ नम्बर वडामा खानेपानी आपूर्ति सुधार गर्न निर्माणाधिन ओभरहेड पानीट्याङ्की निकट भबिश्यमा सञ्चालनमा ल्याउने संस्थानको दाबि छ । साथै पोखरा उपमहानगरपालिका वडानम्बर १५ रामबजारबाट ढुङ्गेसाघुचोकसम्म मेन पाइप लाइन विस्तारको काम पनि छिट्टै हुने पोखरेलले बताए ।
पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष बिन्दुकुमार थापाले पोखराको खानेपानी ब्यबस्थापनमा जाईकाले गरेको सहयोगको प्रशंसा गरे । उनले योजना अनुसार काम अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् । मर्दीखोलाको मुहान मानव बस्तीभन्दा माथि हुनुपर्नेमा तल भएकाले पानी बढी दुषित भएको उनले बताए ।
पोखरा उपमहानगरपालिकाका बरिष्ठ ईन्जिनियर शारदामोहन काफ्लेले उपमहानगरपालिकाले पोखराको खानेपानीको लागि बार्षिक दुई करोड रुपैया खर्च गरिरहेको भन्दै नयाँ थपिएका वडाहरुमा पनि खानेपानी आपूति सहज बनाउने योजना अघि सार्ने बताए ।
