
नर्वे,वैशाख ८ – नेपालमा एफएम रेडियो खोल्ने होडबाजी चलेका बेला नर्वेमा भने सरकारले एफएम रेडियो बन्द गर्ने भएको छ । परम्परागत रेडियोलाई डिजिटल प्रविधिमा लैजान एफएम रेडियो बन्द गर्न लागेको हो ।
सन् २०१७ पछि त्यहाँ कुनै पनि एफएम रेडियो ट्युन गरेर सुन्न पाइने छैन । तर रेडियो नै सुन्न नपाइने भने होइन । डिजिटल रेडियो रिसिभर वा इन्टरनेटबाट रेडियो सुन्न सकिने छ । नर्वे एफएम बन्द गर्ने विश्वकै पहिलो देश हो ।
डिजिटल अडियो ब्रोडकास्टिङमा गएपछि वार्षिक साढे २ करोड डलर बचत हुने तथा स्रोताले धेरै च्यानल ट्युन गर्न पाउने र आवजको गुणस्तर पनि राम्रो हुने स्थानीय अधिकारीले बताएका छन् । अहिले त्यहाँका झण्डै आधा जनसंख्यासँग डिजिटल रेडियो छ भने रेडियो सुन्ने जनसंख्यामध्ये आधाले इन्टरनेटबाटै सुन्ने गरेका छन् ।
नर्वेमा अहिले ५ वटा एफएम मात्रै प्रसारण भैरहेकोमा डिजिटल प्रविधिमा गएपछि २२ वटा च्यानल उपलब्ध हुने Radio.no blog post. मा उल्लेख छ ।
