लोकदोहोरी कलाकारद्वारा आगलागीपीडितलाई राहत, थपलिया र प्राज्ञ कोइराला सम्मानित

Share:

रञ्जन अधिकारी पोखरा, ११ वैशाख / गण्डक क्षेत्रका लोकदोहोरी कलाकारहरुले गत महिना ताप्लेजुङको फुङलिङ बजार नै सखाप हुने गरी भएको आगलागीबाट पीडितहरुका लागि राहत प्रदान गरेका छन् । कलाकारहरुले संकलन गरेको ५१ हजार रुपैंया शुक्रबार एक कार्यक्रमका बीच कास्कीका प्रमुख जिल्ला अधिकारी मार्फत पठाएका हुन् ।

राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठान गण्डकी अञ्चल कार्यसमिति पोखराले शुक्रबार लोकतन्त्र दिवसको अवसरमा आयोजना गरेको शुभकामना तथा राहत हस्तान्तरण कार्यक्रममा अध्यक्ष जीवन दाहालले कास्कीका प्रजिअ कृष्णबहादुर राउतलाई सो रकम हस्तान्तरण गरेका हुन् । कलाकारले गीतमात्रै गाउँदैनन्, दुखेका मनमा मल्हम पट्टी लगाउने र सामाजिक दायित्व पनि पुरा गर्छन भन्ने सन्देश दिन पनि यस्तो अभियान चलाएको अध्यक्ष दाहालको भनाई थियो ।

Lok Dohori

सोहि अवसरमा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेश कुमार थपलिया र लोकगायिका एवं प्राज्ञ हरिदेवी कोईरालालाई सम्मान गरिएको थियो । गीतसंगीतका लागि प्रशासनीक क्षेत्रबाट गरेको योगदानको कदर गदै थपलिया र लोकगीतसंगीतको माध्यमबाट पुर्याएको योगदानको कदर गदै कोइरालाई सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ । थपलिया र कोइराला सरकारबाट प्रदान गरिने जनसेवा श्री तस्रो विभुषणबाट समेत सम्मानित भईसकेका छन् । उनीहरुलाई दोसल्ला र माला लगाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व तथा प्रमुख अतिथि क्षेत्रीय प्रशासक थपलियाले संगीतको दायरा फराकिलो हुने बताउदै गीतसंगीत जातजाती, भाषा र भुगोलको सिमालाई नछुने बताए । संगीत विश्वब्यापी भएको भएको बताउदै संगीत सवैलाई प्रिय हुने उनको भनाई छ । ‘गीतसंगीत मन नपराउने व्यक्ति हुँदैन, संगीतले सीमा र भावनालाई विखण्डन गर्न सक्दैन ।’ थपलियाले भने ।

अर्का सम्मानित व्यक्तित्व प्राज्ञ हरिदेवी कोइरालाले कलाकार राष्ट्रको गहना भएको बताउदै नेपाल आमाको शिर र गलामा पहिरिने भएकाले राष्टप्रतिको जिम्मेवारी र दायित्वलाई पुरा गर्नुपर्ने बताईन् । उनले राष्ट्रबाट केही पाउने अपेक्षा भन्दा पनि केही दिनुपर्छ भन्ने भावना राख्नुपर्ने भन्दै लोकसंस्कृतिमा देखिएको विकृति र विसंगीतलाई हटाउन सवै लाग्नुपर्नेमा समेत जोड दिईन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले कलाकारहरु मुलुक निर्माणमा राष्ट्रसँगै एक भएर अघि बढ्नुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, युनाईटेड क्लब पोखराका अध्यक्ष हिमालय बख्रेल, प्रतिष्ठान जिल्ला कार्यसमिति कास्की अध्यक्ष शिवहरि ढुंगाना लगायतले बोलेका थिए । महासचिव घनश्याम रिजालले सञ्चालन गरेको कार्यक्रममा सचिव सुरेन्द्र गुरुङले स्वागत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: