ईक्यान सदस्यहरुलाई नेतृत्व तथा व्यक्तित्व विकास तालिम

Share:

रञ्जन अधिकारी पोखरा, ११ वैशाख / नेपाल शैक्षिक परामर्श संघ (ईक्यान), कास्कीले संघमा आबद्ध रहेका संस्थामा कार्यरत सदस्यहरुलाई नेतृत्व तथा व्यक्तित्व विकास तालिम प्रदान गरेको छ । शुक्रबार र शनिबार दुई दिनसम्म चल्ने तालिममा नेपाल ईन्स्टिच्युट फर लिडरशीप डेभलपमेन्ट प्रा.लि. का अग्रज प्रशिक्षक विकल शेरचन र उषा मल्ल सिंहले सहजीकरण गरेका छन् ।

तालिममा पोखरा स्थित करीब ३० संस्थाका ४० बढि मेम्बर, काउन्सलर तथा सञ्चालकहरुको सहभागिता रहेको छ । शुक्रबार तालिमको शुभारम्भ गर्दै ईक्यानका केन्द्रीय अध्यक्ष राजेन्द्र बरालले ईक्यान अब बृहत भएको बताउँदै अब ईक्यानका सदस्यहरु बढि जिम्मेवार भएर व्यवसायिक कर्ममा जुट्नुपर्ने आवश्यकता औंल्याए ।

Ecan Training 2

‘वैदेशिक शिक्षाका लागि विद्यार्थीहरुलाई परामर्श दिने संस्थाहरुमा कार्यरत मेम्बरहरु जिम्मेवार हुनु आवश्यक छ’ – उनले भने– ‘विद्यार्थीहरुको जीवन बनाउने दायित्व लिएका ईक्यान मेम्बरहरुलाई नेतृत्व तथा व्यक्तित्व विकास सम्बन्धी यस तालिम फलदायी हुने विश्वास लिएको छु।’

कार्यक्रमको अध्यक्षता समेत गरेका आयोजक ईक्यान कास्कीका अध्यक्ष महेश भण्डारीले ईक्यानका सदस्यहरु शैक्षिक परामर्श क्षेत्रको लिडर हुनपर्ने आवश्यकता रहेकाले नै तालिम आयोजना गरेको प्रष्टाए । दुई दिने तालिमबाट मेम्बरहरुको क्षमता विकास हुने र यसले कार्य सम्पादनमा सहजता थपिने भण्डारीको विश्वास छ ।

कार्यक्रममा ईक्यानका केन्द्रिय सदस्य गुडाखर सापकोटा, ईक्यान कास्की सल्लाहकार डि.बि. गुरुङ लगायतले बोलेका थिए । कार्यक्रम संयोजक तथा संघका तालिम तथा प्रशिक्षण विभागका संयोजक रुद्रप्रसाद अर्यालले स्वागत गरेको कार्यक्रममा उपाध्यक्ष मिलन तिवारीले धन्यवाद ज्ञापन तथा सचिव सन्दिप अर्यालले कार्यक्रमको सञ्चालन गरेका थिए ।

राजधानी बाहिर पहिलोपटक ईक्यान कास्कीले आयोजना गर्दै आएको ईक्यान फेयरको दोस्रो संस्करण समेत सम्पन्न भईसकेको छ ।

कमेन्ट गर्नुहोस्
Share: