
काठमाडौं : चीनको हान्झाउनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध विशाल जीत हात पारेको छ।
नेपालले २ सय ७३ रनको विशाल अन्तरले जीत हात पारेको हो।
टस हारेको नेपालले युवा ब्याटर कुशल मल्लको शतक, कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धसतक प्रेरित नेपालले मंगोलियालाई तीन सय १५ रनको लक्ष्य दिएको थियो। नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै तीन सय १४ रन बनाएको थियो।
यो टी–२० आई इतिहासकै उच्च योगफल हो। यसअघि अफगानिस्तानले आयरल्यान्ड र चेक रिपब्लिकनले टर्कीविरुद्ध समान २ सय ७८ रन बनाएका थिए।
नेपालका ओपनर कुशल भुर्तेल २३ बलमा २ चौकासहित १९ र आसिफ शेख १७ बलमा २ चौकासहित १६ रनमा आउट भए। कुशल मल्ल ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनमा नटआउट रहे। दीपेन्द्रसिंह ऐरीले ९ बलमा ८ छक्कासहित ५२ रनको अविजित योगदान दिए। दीपेन्द्र सबै भन्दा छिटो अर्थशतक बनाउने खेलाडी बने। दीपेन्द्रले भारतीय ब्याटर युवराज सिंहको १२ बलको कीर्तिमान तोडेका हुन्।
कुशलले ३४ बलमै शतक पूरा गरेका थिए। योसँगै कुशल टी–२० आई इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याटर बनेका छन्। यसअघि टी–२० आईमा भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेक रिपब्लिकनका सुदेश विक्रम शेखरले समान ३५ बलमा शतक पूरा गरेका थिए।
कप्तान राहित पौडेल ६१ रनमा आउट भए। तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले १ सय ९३ रनको साझेदारी गरेका थिए। यो कुनैपनि खेलमा नेपाली ब्याटरले गरेको उच्च साझेदारी हो।
३१५ रनको विशाल लक्ष्य सहित मैदानमा आएको मंगोलियाले ४१ रन बनायो ।
नेपालको करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछाने समान दुई विकेट लिएन्। सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलको नाममा समान एक एक विकेट रह्यो।
अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको मंगोलियाको नेपालविरुद्धको खेलमा खराब प्रदर्शन रह्यो । नेपालले आइतबार माल्दिभ्ससँग खेल्नेछ।
