झुलाघाट नाका पूर्णरूपमा सञ्चालनमा

167
0
Share:

बैतडी : बैतडीस्थित भारतसँग सीमा जोडिएको झुलाघाट नाका पूर्णरूपमा खुला भएको छ।

झुलाघाटस्थित महाकाली नदीमा रहेको झोलुंगे पुल मर्मत कार्य सम्पन्न भइसकेकाले बुधबादेखि पूर्ण रुपमा आवागमन सुचारु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।

नाका ​पूर्णरूपमा खुलेसँगै भएसँगै अब बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म आवागमन हुनेछ। यसअघि पुल मर्मतको कामका लागि बिहान ८ बजेर ४५ मिनेटदेखि दिउँसो १ बजेर १५ मिनेटसम्म र दिउँसो २ बजेर १५ मिनेटदेखि दिउँसो ४ बजेर १५ मिनेटसम्म पुलमा आवागमन बन्द हुने गरेको थियो ।

नाका पूर्णरूपमा खुलेसँगै दशैँको समयमा बैतडीका शक्तिपीठमा दर्शनका लागि आउने भारतीय दर्शनार्थीलाई समेत सहज भएको छ। बैतडीका निङ्गलाशैनी, त्रिपुरासुन्दरी, मेलौली, उदयदेव लगायतका मन्दिरमा दर्शनका लागि दशैँको समयमा भारतीय दर्शनार्थी समेत आउने गरेका छन्।

झुलाघाट नाकामा करिब २०० वर्ष अघि इष्टइण्डिया कम्पनीले निर्माण गरेको झोलुंगे पुलबाट आवतजावत हुँदै आएको छ। पुल जीर्ण भएपछि सीमा समन्वय बैठकमा पुल मर्मत सम्भार गर्ने निर्णय भएको थियो।

झुलाघाटमा पक्की पुल नहुँदा जीर्ण पुलबाट आवतजावत गर्नुपर्ने बाध्यता छ। पुल मर्मतका लागि नाका बेलाबेला बन्द गर्ने गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: