
कास्की : विगतका वर्षहरूमा दशैँ मान्नका लागि पोखराबाट बाहिरिनेहरूको संख्या अधिक हुने गरे पनि यस वर्ष न्यून रहेको छ । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा विभिन्न पेसा तथा व्यवसायमा रहेकाहरू परिवारका साथमा चाडपर्व मान्नका लागि घर जाँदा सार्वजनिक यातायातको समस्या हुने गरेकामा यस वर्ष सो समस्या छैन । गन्तव्यमा पुग्नका लागि यात्रुले पर्याप्त गाडी पाएका छन् ।
पोखरामा प्रधान कार्यालय रहेर देशका सातवटै प्रदेशमा दिवा तथा रात्रिसेवामा यातायात सञ्चालन गर्दै आएको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीले यस वर्ष दशैँमा पोखरा छाड्नेहरू न्यून रहेको जनाएको छ । कम्पनीले दशैँका लागि गत असोज २१ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाएकामा शुक्रबारसम्म छ हजार जनाले मात्र टिकट लिएका छन् ।
अघिल्ला वर्षहरूमा दशैँका समयमा ३० हजार हाराहारीमा अग्रिम टिकट बुकिङ हुने गरेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताए । उनका अनुसार विगतमा सार्वजनिक यातायातमा यात्रुको चाप बढी हुँदा थप बस सञ्चालन गर्नुपरे पनि यस वर्ष त्यस्तो छैन ।
अध्यक्ष केसीले भने, “यस वर्ष दशैँका लागि पोखराबाट बाहिर जाने यात्रुहरूको संख्या अत्यन्त कम छ । पहिला ३० हजारसम्म अग्रिम टिकट जान्थ्यो । अहिले नियमित तालिकाअनुसार नै गाडी पर्याप्त छन्, थप गाडीको व्यवस्था गर्नुपरेको छैन । अग्रिम बुकिङ पनि कम भयो ।”
अध्यक्ष केसीका अनुसार कम्पनी मातहतमा एक हजार दुई सय ९० यात्रुबाहक बस सञ्चालनमा छन् । कम्पनीले दिवा तथा रात्रि सेवामा सुविधासम्पन्न ‘डिलक्स बस’बाट देशका सातै प्रदेशका विभिन्न सहरमा सेवा दिँदै आएको छ ।
अर्थतन्त्रमा देखिएको मन्दीका कारण पनि दशैँमा पोखरा बाहिर जानेको संख्यामा कमी आएको बताइन्छ । हरेक क्षेत्रमा भएको मूल्यवृद्धि र व्यापार व्यवसायमा आएको गिरावटका कारण पनि आफू रहेकै ठाउँमा पर्व मनाउनेहरूको वृद्धि भएको छ ।
