
रञ्जन अधिकारी पोखरा, ३१ वैशाख / गत वैशाख १२ गते र २९ गतेको भुकम्पबाट मृत्यु भएकाको आत्माको चीर शान्तिको कामना गर्दै पोखरामा विहीबार साँझ दीप प्रज्ज्वलन गरिएको छ । चिप्लेढुंगाको बिपी चोकमा आयोजित कार्यक्रममा सयौं पोखरेलीले सहभागिता जनाएर दीप प्रज्ज्वलन गरे ।
सम्पूर्ण पोखरेली समूह आयोजकको रुपमा रहेर शोकलाई शक्तिमा बदल्नुपर्छ भन्ने सोचका साथ ‘वि विल राईज अगेन’ नाराका साथ नौ हजार नौ सय ९९ मैन बत्ती बाल्ने कार्यक्रम राखेकोमा पोखरेलीहरु मैनबत्तीका साथमा सडकमा ओहिरिए ।
पश्चिमाञ्चल सहक्षेत्रीय प्रशासक दिवाकर बास्तोलाले मैन बत्ती प्रज्ज्वलन गरेका थिए भने मृतकको आत्माको शान्तिको कामना गर्दै एक मिनेट मौन धारण पनि गरिएको थियो । कार्यक्रम सोचे जस्तै सफल भएको संयोजक विनोद कोईराला र उत्तम पौडेलले जनाए । ‘केहि बेर भारी वर्षा भएपछि साढे ६ बजे राखिएको कार्यक्रम धकेलिने हो कि भन्ने चिन्ता थियो’ – पौडेलले भने– ‘पानी रोकिएपछि समयमै सुरु भयो, पोखरेलीहरुहरुले कार्यक्रम सफल पारिदिनुभयो ।’
सो अवसरमा गायक विवेक श्रेष्ठ लगायतले नेपालीले अब हिम्मत नहारी पुनर्निमाणमा जुट्नुपर्ने भन्दै गीत समेत प्रस्तुत गरेका थिए । भुकम्प गएपछिको मार्मिक तस्बिर र भिडियो देखाईएको थियो भने योगेश काजीको दैव गीत भिडियो समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन सञ्जय मल्लले गरेका थिए ।
फोटोः देवजंग क्षत्री
