
रञ्जन अधिकारी पोखरा, २ जेठ / गण्डकी साहित्य सङ्गम, पोखराले प्रदान गर्दै आएको गण्डकी वाङ्मय पुरस्कार यो वर्ष प्रगतिवादी साहित्यकार पोषराज पौडेललाई प्रदान गरिने भएको छ । सङ्गमले २०५३ सालदेखि दुई वर्षमा प्रदान गर्दै आएको क्षेत्रीय तहको यो पुरस्कार यसपटक पौडेललाई प्रदान गर्न लागिएको अध्यक्ष नारायण परिश्रमीले जानकारी दिए ।
आगामी जेठ ८ गते शुक्रबार ८६ औं गोकुल जयन्तीका अवसरमा नगद १५ हजार, दोसल्ला तथा सम्मानपत्रले पौडेललाई पुरस्कृत गरिने सङ्गमले जनाएको छ । सङ्गमका सदस्य लोकबहादुर थापाको संयोजकत्वमा गठित रामराज रेग्मी र बाबुराम पन्त सदस्य रहेको पुरस्कृत व्यक्तित्व छनौट समितिको सिफारिस अनुसार पौडेललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । यसअघि यस पुरस्कारबाट नौ जना सम्मानित भईसकेका छन् ।
चार दशक बढी समयदेखि निरन्तर साहित्य साधना गर्दै आएका साहित्यकार पौडेलको आधा दर्जन बढि विभिन्न विधाका कृति प्रकाशित छन् । वि.सं. २००१ भदौ ८ गते कास्कीको घार्मीमा जन्मिएका पौडेलको माडी यात्रा (खण्डकाव्य, २०३९), म्याक्सिम गोर्की (जीवनी काव्य, २०४३), पागल प्रलाप (काव्य, २०५५), सहिद गाथा (महाकाव्य, २०५७), आदर्श कोकिल (काव्य, २०६५), आमा स्मृतिका छालमा (शोककाव्य, २०६६), अग्निगर्भका आवाजहरु (कविता सङ्ग्रह, २०६९) प्रकाशित छन् । पौडेल ए. अखिल नेपाल जनसांस्कृतिक महासंघ, अखिल नेपाल लेखक संघ, इच्छुक सांस्कृतिक प्रतिष्ठान, शारदा स्मृति प्रतिष्ठान र प्रगतिशिल लेखक संघ, चितवनमा आबद्ध छन् ।
सङ्गमले प्रत्येक दुई वर्षमा २०५२ सालदेखि राष्ट्रिय तहमा गोकुल वाङ्मय पुरस्कार समेत प्रदान गर्दै आएको छ । समाजवादी यथार्थवाद र सामन्तवाद–साम्राज्यवाद विरोधी प्रगतिशील तथा देशभक्त साहित्यिक धारामा साधना गर्ने स्रष्टाहरुलाई प्रेरणा, प्रोत्साहन एवं सम्मानका लागि पुरस्कारहरु वितरण गर्दै आएको अध्यक्ष परिश्रमीले बताए । गोकुल साहित्य पुरस्कार दश जनाले प्राप्त गरिसकेका छन् । प्रत्येक वर्ष बिराएर यी दुई पुरस्कार प्रदान गर्दै आएको छ ।

