पोखरामा हुने माउन्टेन बाइक रेसमा ११ देशका ५५ प्रतिस्पर्धीले भाग लिँदै

Share:

कास्की : पोखरामा एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता हुने भएको छ । माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा यही मङ्सिर सात गतेदेखि पोखरा महानगरपालिका–१३ को आर्बा–विजय डाँडामा प्रतियोगिता हुन लागेको हो ।
तीन दिनसम्म हुने प्रतियोगितामा विभिन्न ११ देशका खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माका अनुसार नेपालसहित ११ देशका ५५ जना प्रतिस्पर्धीले सहभागिता जनाउने छन् । ८८ जनाले सुरुवाती दर्ता गरे पनि अर्को ठाउँमा प्रतियोगिताको मिति जुधेको कारण केही खेलाडीले नाम दर्ता गरे पनि सहभागी हुन नसक्ने भएका हुन् ।
प्रतियोगितामा इलिट पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्ष माथि), महिला ओपन तथा इ–बाइक गरी ७ विधामा प्रतिस्पर्धा हुनेछन् । इ–बाइक रेस नेपालमै पहिलो पटक हुन लागेको शर्माको दाबी छ ।
खेलकुद र पर्यटनलाई टेवा पुराउनका लागि प्रतियोगिता आयोजना गरिएको डन टिल डस्कका प्रबन्ध निर्देशक छिमी उक्रेन गुरुङले बताए । सन् २०२० देखि तयारी गर्दै उक्त क्षेत्रमा संरचना बनाउन ५० लाख रुपैयाँ लगानी भैसकेको र प्रतियोगिता सञ्चालन हुने समयसम्म थप २० लाख लगानी लाग्ने गुरुङको भनाई छ । प्रत्येक वर्ष प्रतियोगितालाई निरन्तरता दिने योजना भए पनि प्रत्येक छ÷छ महिनामा गर्न सकिने सम्भावनाबारे अध्ययन भइरहेको छ ।
प्रतियोगितामा मङ्सिर सात र आठ गते अभ्यास खेल हुनेछन् भने नौ गते प्रतियोगिता हुनेछ । प्रतियोगिता समुन्द्री सतहबाट एक हजार तीन सय ६० मिटर उचाइमा रहेको आर्वा–विजय डाँडामा हुनेछ । उक्त एन्ड्युरो प्रतियोगिताले आगामी दिनहरूमा विश्वभर ठुलो सङ्ख्यामा माउन्टेन बाइकिङ प्रेमीहरू आकर्षित भई नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकको रहेको छ ।
प्रतियोगितालाई पोखरा महानगरपालिका, कास्की जिल्ला साइक्लिङ सङ्घ, पोखरा खेलकुद विकास समिति तथा पोखरा महानगरपालिका–१३ को वडा कार्यालयले समन्वय गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: