पोखराको चिसाखोलामा कौडा खेलिरहेका ६ जना ८२ हजार सहित पक्राउ

310
0
Share:

कास्की : कास्की प्रहरीले जुवा (कौडा) खेलिरहेको अवस्थामा पोखरा महानगरपालिका–२२ खाल्से स्थित चिसाखोलाबाट छ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवण कुमार बि.क. का अनुसार बिहीबार मध्यान्ह चिसाखोला बस्ने ५२ वर्षीय भेष बहादुर गुरुङको घरमा कौडा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी खटिएको थियो ।
पक्राउ परेकाहरूमा पोखरा भेष बहादुर सहित पोखरा महानगरपालिका–१० अम्मरसिंहचोक बस्ने ३८ वर्षीय बलराम श्रेष्ठ, वडा नं. ९ पृथ्वीचोक बस्ने २८ वर्षीय सुरेन्द्र शाह, वडा नं. १५ रामबजार बस्ने दीपेन्द्र सेन, वडा नं. २६ विजयपुर बस्ने ४१ वर्षीय खम्ब सिंह राना र सोही वडाको बुढिबजार बस्ने सन्दीप भन्ने डोर बहादुर गुरुङ रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट अत्याधुनिक रूपमा सेन्सर जडान गरिएको सेन्सर लाइट एवं रिमोटबाट सञ्चालन हुने उपकरणबाट डिजिटल प्रणालीको प्रयोग गरी जुवा तास खेल्न प्रयोग हुने सामग्री पनि बरामद गरेको छ । नगद ८२ हजार नौ सय ९० रुपैयाँ सहित जुवा खेलाउनको लागी जमिनमा खाडल खनेर लाइनको तार समेत जडान गरेको गोलाकार सेन्सर मेसिन (अर्थिङ बक्स) एक थान, डिजिटल स्टेप्लाईजर एक थान, डिजिटल स्टेपलाईजरबाट जडान गरी जुवा खालमा हेर्न मिल्ने गरी सेन्सर लाइट जडान गरेको तार र रिमोट पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकाहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टे वाजी गर्न नहुने) सम्बन्धी मुद्दामा आठ दिनको म्याद थप गरी अनुसन्धान चलिरहेको पनि सूचना अधिकारी बि.क.ले बताए ।

कमेन्ट गर्नुहोस्
Share: