८० लाख लगानीमा पोखरामा ‘गोधुली दोहोरी साँझ’ संचालनमा

Share:

पोखरा, ८ जेठ । पोखरामा नयाँ दोहोरी साँझहरु थपिने क्रमले तिव्रता पाएको छ । यहि क्रममा पछिल्लो पटक बाँस्तोलाथर नयाँबजारमा ‘गोधुली दोहोरी साँझ’ संचालनमा आएको छ । शुक्रबारदेखि दोहोरी साँझको विधिवत शुभारम्भ भएको हो ।

यो सँगै पोखरामा दोहोरी साँझहरुको संख्या १३ पुगेको छ । ८० लाख रुपैयाँ लगानीमा युवा व्यवसायीहरु मनोज भट्ट, रेशम रचक, डिबि कुमाल र सोना मल्लले दोहोरी संचालनमा ल्याएका हुन् । यसअघि सोहि ठाऊँमा दिउँसोमा क्वालिटि फुड क्लब (केएफसी) नामको रेस्टुरेन्ट चलाउँदै आएका उनीहरुले व्यवसायलाई थप विस्तार गरि साँझमा दोहोरी साँझ संचालन गरेका हुन् ।

‘दिउँसो रेस्टुरेन्ट यथावत नै संचालन हुनेछ भने साँझमा दोहोरीको मज्जा पनि ग्राहकहरुले लिन पाउनेछन् ।’ संचालक मनोज भट्टले भने–‘सँगसँगै हामीले स्नुकर हाउस पनि संचालन गरिरहेका छौँ ।’ दोहोरीमा ग्राहकहरुका लागि स्वस्थकर खाना र उत्कृष्ट सुविधा उपलब्ध गराउने उनले दाबी गरे । ‘हामी अरुभन्दा फरक यो कुरामा छौँ की ग्राहकहरुको सुविधाको कुरामा हामीले कुनै सम्झौता गर्नेछैनौँ ।’ उनले भने–‘त्यो पनि अन्यत्र भन्दा निकै सुलभ मुल्यमा ।’

गोधुली दोहोरी साँझको शुभारम्भ विशेष कार्यक्रम जेठ ८ देखि १६ गतेसम्म ८ दिन चल्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । विशेष कार्यक्रम अन्तरगत लोकप्रिय गायकगायिकाहरुले दैनिक प्रस्तुती दिने संचालकहरुले बताएका छन् । रामजी खाँड, मुना थापा, शर्मिला गुरुङ, राजु गुरुङ, पुरुषोत्तम न्यौपाने, प्रजापती पराजुली लगाएतका कलाकारहरुले ८ दिनसम्म विशेष प्रस्तुती दिने अर्का संचालक रेशम रचकले बताए । साथै ८ दिने विशेष शुभारम्भ कार्यक्रममा भएको नाफाको केहि प्रतिशत रकम भूकम्प पिडितहरुको लागि सहयोग गरिने उनले जानकारी दिए ।

नियमित कलाकारहरुमा भने माधव चाापाँगाई, ओम गुरुङ, रमेश परियार, प्रदिप राजपाल, कुसुम क्षेत्री लगाएत रहेका छन् । हाल दोहोरी, रेस्टुरेन्ट र गेम जोनमा गरि ४० जना कर्मचारीले रोजगारी पाईरहेको संचालकहरुले बताए ।

कमेन्ट गर्नुहोस्
Share: