बैंसरीको पहिरोले बेनी–जोमसोम सडकखण्ड अबरुद्ध / सडक खुलाउन अझै केही दिन लाग्ने

Share:

म्याग्दी , जेठ ११ / उत्तरी म्याग्दीको भगवती–२, बैंसरीमा राम्चे–९ काफलडाँडाबाट खसेको पहिरोले हिमालपारीको जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको छ । शनिबार राती २ बजेबाट खसेको पहिरोले कालीगण्डकी नदी थुनेपछि त्यसको असरबाट सडकलाई क्षति पुगेको हो । अबरुद्ध सडक खुलाउन अझै केही दिन लाग्ने भएकाले प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ पुग्ने तीर्थयात्री र यात्रुहरु समस्यामा परेका छन ।

म्याग्दीको सदरमुकाम बेनीदेखि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडकको बैंसरी खण्डमा करिब ३ किलोमिटर बढी क्षेत्रमा पहिरोले क्षति पु¥याएपछि सीधा सवारीसाधन सञ्चालन हुन नसकेको म्याग्दी जीप तथा बस सञ्चालक समितिले जनाएको छ । पहिरोका कारण सडक पुरिएको र कालीगण्डकी थुनिएर ठाउँठाउँमा सडकलाई क्षति पु¥याएकाले तत्कालका लागि चमेरेदेखि वेगखोलासम्म यातायात सञ्चालन नहुने समितिका वरिष्ठ उपाध्यक्ष मोहन केसीले बताएका छन् ।

जिल्लाको उत्तरी भेग अन्तर्गत वेगखोला गाविस भन्दामाथि रहेका सवारीसाधनलाई वेगखोलादेखि सञ्चालन गरी मुस्ताङ जिल्लासम्म यातायात सेवा दिइने अध्यक्ष केसीको भनाई रहेको छ । यसैबीच नेपाली सेनाको एक टोलीले अवरुद्ध सडक खुलाउनका लागि सोमबार इन्जिनियरसहित पहिरो र सडकको स्थलगत अुनगमन गरेको छ । थुनिएको कालीगण्डकी आफै खुलेपनि सामान्य रुपमा पहिरो अझै खसिरहेकाले सडक खुलाउनका लागि आवश्यक उपकरण ल्याएपछि मात्रै त्यसको काम गरिने ईन्द्रबक्स गण म्याग्दीका प्रमुख सेनानी मनोजकुमार सिलवालले बताए । उनका अनुसार इन्जिनियरिङ टोलीले थप अध्ययन गरी स्थानीय प्रशासनसँगको समन्वयमा सडक खुलाउने काम शुरु गरिने बताइएको छ ।

सडक सञ्चालन गर्ने बिषयमा सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालय म्याग्दीमा अञ्चलस्तरीय बैठक समेत बसेको बैठकले तीन दिन भित्र स्रोत साधन जुटाएर सडक सुचारु गर्नका लागि काम थाल्ने निर्णय गरेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । उनले सडक बिभाग र सुरक्षाकर्मीबाट सडक खुलाउनका लागि भएको जनशक्ति र स्रोधसाधनका बारेमा जानकारी लिएको र केन्द्र संग समेत सहयोग मागेर सडक खुलाउने निर्णय भएको बताए ।

कमेन्ट गर्नुहोस्
Share: