केएमसीमा मिनिमल एसेस सर्जरी प्रविधिबाट ४२ दिनको शिशुको हर्नियाको सफलतापूर्वक शल्यक्रिया

Share:

काठमाडौं : काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) ले ४२ दिनको शिशुको हर्नियाको ल्याप्रोसकोपी विधिबाट सफलतापूर्वक शल्यक्रिया गरेको छ । केएमसीले मिनिमल एसेस सर्जरी प्रविधिबाट जन्मजातै हर्निया भएको शिशुको सफलतापूर्वक शल्यक्रिया गरेको हो ।

चाँगुनारायण नगरपालिका वडा नं. १ सरस्वती खेलका बसन्त खड्काको शिशुको हर्नियाको केएमसीका बाल रोग विशेषज्ञ सर्जन डाक्टर आशिषलाल श्रेष्ठको टीमले सफलतापूर्वक शल्यक्रिया गरेका हुन् । अघिल्लो दिनदेखि लगातार बालक रोएपछि  पुष २ गते केएमसी ल्याइएका शिशुको स्वास्थ्य जाँच गर्ने क्रममा हर्निया भएको पाइएको थियो । त्यसपछि तत्कालै भर्नागरी भोलीपल्टै मिनिमल एसेस सर्जरीमार्फत हर्निया निकालिएको बालरोग सर्जन डाक्टर श्रेष्ठले बताए ।
‘शिशुको जन्मजातै दुवैतर्फ हर्निया थियो । सामान्यतया साना शिशुहरूको शल्यक्रिया गर्नु ठूलै जोखिम हुने भएकाले हामीसँग भएको अत्याधुनिक मिनिमल एसेस सर्जरी प्रविधि अनुसार नाइटोको छेउमा ३ एमएमको २ वटा प्वाल पारेर अप्रेसन गरेका हौं । अहिले बच्चाको अवस्था एकदम ठिक छ’, डा. श्रेष्ठले भने ।

उनले केएमसीमा बालबालिकाका जस्तोसुकै रोगको उपचार गर्न सकिने बताए । मुटुको शल्यक्रिया वाहेक केएमसीमा जस्तोसुकै उपचार संभव रहेका जिकीर गर्दै डा. श्रेष्ठले बालबालिकाहरूमा देखिएका कुनैपनि समस्याहरूमा अभिभावकले हेलचेक्राईं गर्न नहुने पनि बताए । ‘लगातार एउटै समस्या देखा परिरहन्छ भने सामान्य औषधी र एन्टिवायोटिक्स खाएर मात्र हुँदैन । विशेषज्ञ चिकित्सकहरूबाट परामर्श लिनु पर्दछ’, उनले भने ।

केएमसीका अनुभवी विशेषज्ञ स्वास्थ्य टोलीले बच्चाको सफलतापूर्वक शल्यक्रिया गरेपछि बाबु बसन्त खड्का एकदम खुसी छन् । ‘४२ दिनको बच्चाको कसरी अप्रेसन होला र भन्ने चिन्ता थियो । अप्रेसनमा लैजानु अगाडी डाक्टरहरूले स्वासप्रस्वासमा समस्या भए चिरेर भए पनि गर्नुपर्छ भन्नुभएकोले बच्चा बाँचेर फर्किने होकि होइन् भन्ने चिन्ता थियो । तर, केही भएन, अप्रेसन सफल भयो’, बाबु खड्काले भने । केएमसीको अत्याधुनिक ल्याप्रोस्कोपी प्रविधिले नै बच्चा बचाउन सफल भएको भन्दै खड्काले चिकित्सकहरूलाई धन्यवाद दिए । ‘मेरो लागि केएमसीका डाक्टरहरू भगवान सरह नै हुनुभयो । उहाँहरूले उपचार पद्दतिमा गर्नुभएको केयर कहिल्लै विर्सन सक्दिन ।’

कमेन्ट गर्नुहोस्
Share: