
बागलुङ : राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ बजार आइपुगेका छन् । आज बिहान १० बजेर २ मिनेटमा राष्टपति पौडेल नेपाली सेनाको हेलिकप्टरमा बागलुङ आएका हुन् । बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित नेपाली सेनाको गणमा पौडेल अवतरण भएपछि प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरे।
राष्ट्रपति पौडेल सातौँ बागलुङ महोत्सवको उद्घाटनका लागि बागलुङ आएका हुन्। पौडेलले बागलुङ कालिका भगवती मन्दिरमा पूजाआराधना गरेका छन्। सातौँ बागलुङ महोत्सव उत्घाटनका लागि बागलुङ आएका राष्ट्रिपति पौडेलले कालिका मन्दिरको दर्शन गर्नुका साथै पूजाआराधाना गरेका हुन्।
मन्दिरका मूल पूजारी जयबहादुर खड्काबाट करिब २० मिनेट पूजा आराधनापछि राष्ट्रपति पौडेललाई कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले सम्मानपत्र र मायाको चिनो प्रदान गरेका छन्।
मन्दिरको दर्शनलगत्तै बागलुङ नगरपालिका–४ कुँडुलेस्थित सालिग्राम सङ्ग्रहालयको अवलोकन गर्ने कार्यक्रम रहेको उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिए ।
कोरोना सङ्क्रमणका कारण अघिल्लो पटक हुन नपाएको महोत्सव चार वर्षपछि फेरि हुन लागेको हो । यस अघि विसं २०७६ मा महोत्सव भएको थियो । महोत्सव आजदेखि सुरु भएर पुस २१ गतेसम्म चल्ने अध्यक्ष कँडेलको भनाइ छ । महोत्सवमा एक सय २० भन्दा बढी कक्ष रहने छन् । महोत्सवको करिब सात लाख दर्शकले अवलोकन गर्ने अनुमान छ ।
महोत्सवमा खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता, खुला रिले दोहोरी तथा लाइभ दोहोरी गीत, खुला भजन प्रतियोगिता र युवा उद्यमी सम्मेलन हुने जनाइएको छ । मेलामा सशस्त्र द्वन्द्वमा घाइते भएका नागरिकलाई निःशुल्क प्रवेशको सुविधा रहेको सङ्घले जनाएको छ ।
