
चितवन, जेठ १७ / नेपालको एक मात्र केबुलकार सञ्चालनमा आउन अझै एक हप्ता लाग्ने भएको छ । बैशाख १२ गते आएको विनाशकारी भूकम्पका कारण बन्द भएको केबुलकार बीचमा तीन दिन खुलेर फेरि बन्द भएको हो ।
भूकम्पपछि स्थिति सामान्य बन्दै गएपछि वैशाख २७ गतेदेखि संचालनमा आएको केबुलकार २९ गतेको भूकम्पका कारण फेरि बन्द हुन पुग्यो । भूकम्पका कारण मनकामना मन्दिरमा पूजाआजा रोकिएका कारण केबुलकार बन्द गरिएको मनकामना केबुलकार दर्शन प्रालिका नायब महा प्रबन्धक डीएन कायस्थले बताए ।
मन्दिरमा दैनिक रुपमा पूजाआजा सुरु हुन थालेपछि केबुलकार सञ्चालन गरिने कायस्थले बताए । भूकम्पका कारण केबुलकारमा कुनै क्षति नभएको भएपनि मन्दिर जीर्ण अवस्थामा पुगेको कारण केबुलकार सञ्चालन नगरिएको कायस्थले जानकारी दिए । केबुलकार सञ्चालनमा नआएपछि मनकामना दर्शनका लागि आएका यात्रुहरु केबुलकारको गेटमा पूजा गरेर फर्किने गरेका कायस्थले बताए ।
केबुलकार हुँदै मनकामनामा पूजा गर्न दैनिक ३ हजारभन्दा बढी यात्रु आउने गर्दथे । केबुलकार सञ्चालनमा नआउँदा पाँच करोड रुपैयाँ भन्दा बढी नोक्सानी भएको जनाइएको छ । केबुलकारमा हाल ३१ वटा यात्रु बोक्ने र तीन वटा सामान बोक्ने डब्बा रहेका छन् ।
