
२३ जेठ । पाँच महिना यता खाली रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदमा राजकुमार राई चयन भएका छन् । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले अध्यक्षमा चलचित्र निर्माता संघका अध्यक्ष राज कुमार राईलाई नियुक्त गरेको हो ।
यसअगाडि धर्मेन्द्र मरवैताको कार्यकाल सकिएपछि अध्यक्ष कसलाई बनाउने ? भन्ने विषयमा चर्चा शुरु भएको थियो । हुन त रिक्त रहेको अध्यक्ष पद हत्याउनका लागि धेरै जना चलचित्रकर्मीहरुले रस्साकस्सी नगरेका पनि होईनन् । अन्ततः यसमा राजकुमार राईले बाजी मारेका हुन् ।
राईसंगै अध्यक्षको पदका लागि सम्झना उप्रेती रौनियार र शैलेश आचार्य पनि प्रयासरत थिए । फिल्म मेघा मार्फत निर्देशकको रुपमा परिचित सम्झना कांग्रेस महामन्त्रि प्रकाशमान सिंहको पहलमा विकास बोर्डका लागि कसरत थिईन । सूचना तथा सञ्चारमन्त्री निकट मानिने अध्यक्ष राई, उनकै प्रस्तावमा अध्यक्ष भएका हुन् । निवर्तमान अध्यक्ष धर्मेन्द्र मरवैता ‘पप्पु’ को पदावधि गत १८ माघ २०७१ मा सकिए पछी नेपाल सरकारले सो पदपुर्ती गर्न सकेको थिएन ।
माघ १९ गते देखि अध्यक्ष बिहिन रहेको विकास बोर्डको अध्यक्ष पदमा २२ जेठ २०७२ मा निर्माता राईलाई नियुक्त गरीएको हो । निर्माता राईको यो नियुक्तिसंगै फिल्म नगरीमा केहि हुन्छ भन्ने आश धेरैले लिएका छन् । किनकी अध्यक्षको रुपममा निर्माता संघमा दुइ कार्यकाल बिताईसकेका निर्माता राईको यो नै अन्तिम केन्द्र हो । यसले गर्दा पनि राईले काम गर्ने आश सबैले गरेका छन् ।
यता राई विकास बोर्ड अध्यक्ष भएपछि निर्माता संघमा कसले पद सम्हाल्ने भन्ने वहश शुरु भैसकेको छ । भित्रि स्रोतका अनुसार अब निर्मातासंघको नेतृत्व निर्माता तथा निर्देशक आकाश अधिकारीले गर्नेछन । केहि महिनामै साधारणसभा सभा हुने निर्माता संघमा अध्यक्ष पदका लागि भिड्नेमा सकारात्मक देखिएको आकाश निकट स्रोत बताउँछ ।
