प्यालेस्टिनी बुबाले बच्चाहरूलाई घोडाको मासु खुवाए, भन्छन् : भोकै राख्न सकिन

165
0
Share:

अक्टोबर ७, २०२३ मा सुरु भएको इजरायल–हमास युद्धमा हालसम्म २९ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ । समाचार एजेन्सी एएफपीका अनुसार गाजामा बस्ने एक बुबाले आफ्ना छोराछोरीलाई घोडाको मासु खुवाएका छन्।

जबलिया शरणार्थी शिविरमा बस्ने ६० वर्षीय अबु जिब्रिलले एएफपीलाई भने, ‘गाजाको अवस्था निकै खराब छ । खानेकुरा पाउन सकिन । केटाकेटीहरू भोकले त्रसित थिए। घोडालाई मारेर त्यसको मासु खुवाउनुबाहेक मसँग अर्को विकल्प थिएन । भोकले हामीलाई मार्दैछ त्यसैले मैले दुई घोडा मारेँ ।

अबु जिब्रिलले भने,’पकाएको घोडाको मासु खाँदा परिवारले कस्तो प्रतिक्रिया देखाउँछ। भन्ने मलाई थाहा थिएन, त्यसैले मैले उनीहरूलाई केही भनिनँ । उनीहरूले घोडाको मासु खाँदैछन् भन्ने थाहा थिएन। हामी एकपटक भोकै सुत्न सक्छौँ तर ४–५ वर्षका बालबालिकालाई कसरी सुताउने ? भोक लागेपछि रुन थाल्छन् ।’

एएफपीको रिपोर्टमा भनिएको छ कि मानिसहरूले आफ्नो पेट भर्न बिग्रिएको मकैको टुक्रा पनि खान्छन्। कतिपयले जनावरलाई दिइने घाँस र पात पनि खान्छन् ।

युरोमेड ह्युमन राइट्स मनिटरका अनुसार फेब्रुअरी १७ मा गाजामा हानिन जुम्मा नामकी ८ वर्षीया बालिकाको भोकले मृत्यु भएको थियो । बालिकाका बुबा सालेहका अनुसार मृत्यु भएको रात उनले आफूलाई भोक लागेको बताएकी थिइन् ।

गाडी नहुँदा बालिकालाई गधाको गाडीमा अस्पताल लगिएको थियो । जहाँ उनको भोक र तिर्खाका कारण मृत्यु भएको चिकित्सकले बताए । सालेहले भने, ‘उसले हरेक दिन खाना पाउन सक्दैन। धेरै दिनपछि संयुक्त राष्ट्रसंघको सहयोग पुग्छ ।’

युद्ध सुरु भएदेखि नै इजरायलले गाजामा सहायता नपुगेको आरोप लगाउँदै आएको छ । उसले गाजा जाने बाटोहरू बन्द गरिरहेको छ। यस्तो अवस्थामा प्यालेस्टाइनीहरुलाई निकै कम सहयोग पुगिरहेको छ । प्यालेस्टाइनीहरूले खाना पाउन लाइनमा उभिनु परेको अल जजिराको रिपोर्टमा उल्लेख छ। करिब १० घन्टा पर्खिएपछि उनीहरुले खाना पाउँछन् ।

कमेन्ट गर्नुहोस्
Share: