राम्रो कार्यकर्ताको पार्टी एमालेमा सक्षम नेतृत्व आवश्यकः अध्यक्ष बस्नेत

372
0
Share:

रञ्जन अधिकारी पोखरा, १९ वैशाख / नेकपा एमाले निकट युवा संघ, नेपालको गण्डकी अञ्चल समितिको प्रथम जिल्ला अधिवेशन शुक्रबारदेखि पोखरामा सुरु भएको छ । अधिवेशनले ३५ सदस्यीय अञ्चल समिति गठन गर्नेछ । शनिबार बिहानदेखि बन्दसत्र सुरु हुने आयोजक कमिटिले जानकारी दिएको छ ।

अधिवेशनको उद्घाटन समारोहमा बोल्दै युवा संघ नेपालका केन्द्रिय अध्यक्ष महेश बस्नेतले नेकपा एमालेका कार्यकर्ताहरु सबैभन्दा ईमान्दार, कर्तव्यनिष्ठ भएको उल्लेख गर्दै मुलुकलाई अघि बढाउने भिजन लिएको एकमात्र पार्टी एमालेलाई हाँक्ने नेतृत्व पनि सक्षम हुनुपर्ने बताए । उनले संसदीय दलका नेता केपी शर्मा ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउन युवा पंक्ति लाग्नुपर्ने भन्दै शारीरिक अशक्तता भन्दा मानसिक बिरामी नै ठूलो रुपमा लिनुपर्ने बताए । ‘अडान र स्पष्ट वक्ता ओलीलाई नै पार्टीको अध्यक्ष बनाउनुपर्छ ।’ बस्नेतले भने – ‘बिरामी भएको प्रसंग निकालेर विभिन्न कुराहरु आएका छन् । शारीरिक बिरामी केहि होईन, मानसिक बिरामी हुनु ठूलो हो । बिरामी भएकोमा कसैले उडाउने काम गर्नुहुँदैन ।’ उनले वरिष्ठ नेता माधव कुमार नेपाल र अध्यक्ष झलनाथ खनाल अब अभिभावक बनेर पार्टी संचालनमा लाग्नुपर्ने बताए । ‘एकै व्यक्ति बिसौं वर्ष नेतृत्व हत्याउने कोहि चाहिँ एक पटक पनि नपाउने । यो कस्तो अन्याय ?’ बस्नेतले भने ।

बस्नेतले युवामा बौद्धिकता र जुझारुपन दुवै आवश्यक भएकोमा जोड दिँदै युवा संघमा यस्ता युवाहरुले मात्र स्थान पाउने बताए । ‘बौद्धिकता भएनन् भने ज्यान मात्र ठूलो भएर काम छैन । बौद्धिकता मात्र हुनेहरु पनि सडक सम्हाल्न सक्दैनन्, गुटबन्दीमै केन्द्रित हुनेछन् ।’ उनले भने ‘सदन र सडक दुवै सम्हाल्ने युवा नेतृत्व हुनुपर्छ ।’ युवासंघलाई रहरलाग्दो, भरलाग्दो र डरलाग्दो संगठन बनाएमात्रै भ्रष्टाचारमुक्त समृद्ध नेपाल बनाउन सकिने बस्नेतको भनाई छ । राजनीतिलाई पेशा नबनाई समाजसेवाका रुपमा लिएमात्र मुलुक विकास हुने बताउँदै उनले जबजको रक्षा, प्रयोग र विकास गर्नुपर्ने आवश्यकता औंल्याए ।

फरक प्रसंगमा उनले युवा संघको धुलिखेल बैठकका क्रममा पार्टीका उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले बोलेका विषयलाई पत्रकारले बंगाएको बताए । प्रहरीमा चेन अफ कमाण्ड छ त्यसै अनुसार चल्नुपर्छ भन्ने भनाईलाई रमेश खरेलले चाकडी नगरेको अर्थमा बंगाउनु दुःखद भएको उनको भनाई छ । ‘बामदेव गौतम गृहमन्त्री हुनुहुन्छ । रमेश खरेल मात्रै होईन आईजीपी उपेन्द्रकान्त अर्याल समेत चेन अफ कमााण्ड अन्तर्गत बामदेव मुनि हुनुहुन्छ ।’ बस्नेतले भने ‘भूपू गुण्डाहरुलाई समातेर, होटलमा छापा मारेर पत्रकार सम्मेलन गरेर सेलिब्रेटी हुन नखोजे हुन्छ भनेर मैले नि भन्दै आएको छु ।’

संघका केन्द्रिय सदस्य एवं गण्डकी ईञ्चार्ज गोविन्द बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा एमाले गण्डकी सचिव मायानाथ अधिकारी, युवा संघ गण्डकी सदस्य विष्णु पुन लगायतले बोलेका थिए । कार्यक्रमको संचालन संघका गण्डकी सहईञ्चार्ज भरत गोदारले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: