रञ्जन अधिकारी, पोखरा, २० वैशाख / ठकुरी समाज महासंघ नेपालका अध्यक्ष कमलबहादुर मल्ल ठकुरीले संसारकै सभ्य र सम्मानित तीन भाषा मध्ये ठकुरी भाषा पनि एक रहेकाले यसको संरक्षण गर्न युवाहरु लाग्नुपर्नेमा जोड दिएका छन् । उनले ठकुरी भाषा आफ्नो जातिबाटै लोपोन्मुख रहेपनि पछिल्लो क्रममा क्षेत्री लगायतका जातिहरुले बोल्न थालेकाले सन्तोष प्रकट गरे ।
ठकुरी संगम परिवार कास्कीसँग आबद्ध ठकुरी युवा परिवारले पोखरामा शनिबार आयोजना गरेको दर्शन अंक ४ विमोचन समारोहमा बोल्दै अध्यक्ष ठकुरीले आफ्नै जातिले भाषा बिर्सदैं गएको बताए । ‘यति मिठो भाषा र हाम्रो सभ्य पहिचानलाई जोगाउने जिम्मा युवाहरुको काँधमा आएको छ ।’ ठकुरीले भने ‘तँ तँ र म म भनेर बोलिने भाषा सामन्ति नहुने मानपूर्वक बोलिने भाषालाई सामन्तिको बिल्ला भिराईन्छ । यो कस्तो अन्याय ।’
ठकुरीले पोखराका युवाहरुले आफ्नो जाति, संस्कार संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गर्दै चार लाख बढि नेपालका ठकुरीहरु एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेकोमा जोड दिए । उनले भने ‘दरबारमा तरबार खेलाउने ठकुरीहरु र विभिन्न जिल्लाका सिस्नो खाएर लिस्नो चढ्ने ठकुरीहरुलाई एकै ठाउँमा ल्याउने जिम्मा हाम्रो हो ।‘ उनले विभिन्न जातजातिहरु जातिय राज्यको माग गर्दै खुल्न थालेपछि बाध्य भएर ब्राह्मण, क्षेत्री समाजसँगै समाज गठन गर्नुपरेको बताए ।
ठकुरी संगम परिवार कास्कीका अध्यक्ष नुरबहादुर हमालले समाजको मार्गदर्शन गर्दै आफ्नो संस्कृति जोगाउन युवाहरु लागिपरेकोमा हर्ष लागेको बताउँदै ठकुरी युवाहरु नमुना बनेर समाजमा स्थापित भएको उल्लेख गरे ।
साहित्यकार दुर्गाबहादुर शाह बाबाले ठकुरी जातिको संस्कार, पहिचान, मुलुकभरका ठकुरीहरुको रहनसहनबारे समस्त ठकुरीहरुलाई बुझाउन पुस्तक सक्षम रहने बताउँदै युवाहरुको कदमको प्रशंसा गरे । सल्लाहकार अनिल शाही ठकुरीले युवाहरु गत बाटोमा लागिरहँदा ठकुरी युवाहरु सृजनशील क्षेत्रमा लागिपर्नु खुशीको कुरा भएको उल्लेख गरे ।
पुस्तकको समालोचना साहित्यकार तथा पत्रकार असफल गौतमले गरेका थिए । उनले मुलुकका विभिन्न स्थानमा रहेका ठकुरीहरुको जातिय संस्कार, संस्कृतिमा मात्र पुस्तक सीमित नरहेको भन्दै समावेशिता, कला, साहित्य, विज्ञान प्रविधिमूलक जानकारीले पनि पुस्तक उत्कृष्ट रहेको उल्लेख गरे ।
परिवारका अध्यक्ष पितम बहादुर सेन ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष सन्तोष शाही ठकुरी , संचारकर्मी अभिमन्यू विक्रम राणा लगायतले बोलेका थिए । परिवारका सचिव रमेश हमालले संचालन गरेको कार्यक्रममा स्मारिका संयोजक रोमन शाही ठकुरीले स्वागत गरेका थिए ।
