भारतीय प्रधानमन्त्री मोदी नेपालमा, नेपालीमा सम्बोधन सहित गौतमवुद्ध नेपालमै जन्मेको मोदीको प्रष्टीरण, संविधान निर्माणमा सहयोग गर्ने

Share:

काठमाडौ, श्रावण १८ / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधान निर्माण प्रक्रियाको प्रशंसा गर्दै गणतन्त्र नेपालको भारतले सम्मान गर्ने बताएका छन् ।

व्यवस्थापिका संसदमा आइतबार साँझ ४५ मिनेट लामो सम्बोधनमा उनले नेपालले उदाहरण सफल भए विश्वबाट हिंसाको अन्त्य हुने आशा व्यक्त गरे । ‘बुलेट छाडेर व्यालेटमार्फत संविधान लेख्ने नेपालको प्रयास सफल भए त्यसले विश्वमै हिंसा अन्त्य गर्नको लागि प्रेरणा दिनेछ,’ नेपाल सार्वभौम मुलुक भएको उल्लेख गर्दै मोदीले भने, ‘भारत संघीय लोकतान्त्रिक नेपालको सम्मान गर्छ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाओवादी अध्यक्ष प्रचण्डको नाम नलिइकन उनलाई अशोक सम्राटसँग तुलना गरेका छन् । उता हिन्दुराष्ट्रको वकालत गर्दै आएका कमल थापालाई निराश बनाउने गरी मोदीले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिवद्धता जनाएका छन् ।

‘अशोक युद्ध छाडेर वुद्धको शरणमा गएका थिए । म तिनलाई बधाइ दिन चाहन्छु, जसले बुलेटको बाटो छाडेर ब्यालेटको बाटो लागेका छन्, युद्धदेखि वुद्धको बाटो लिएका मान्छे यहाँ छन् ।’ उनले युद्ध छाडेर मूलधारको राजनीतिमा फर्किएको माओवादीतर्फ इंगित गर्दै सम्मान दर्शाए । आफ्नो संवोधनमा एमाओवादीलाई लक्षित गर्दै मोदीले भने- ‘दुनियाँको नजर तपाईहरुतर्फ छ, किनभने संविधानको माध्यमबाट अघि बढ्ने काम नेपालको सफलताले विश्वलाई समेत शस्त्र छाड्ने प्रेरणा मिल्नेछ ।’

भारतीय प्रधानमन्त्री मोदीले युद्धको बाटोबाट बुद्धको बाटोमा अनि शस्त्रको बाटोबाट शास्त्रको बाटोमा लागेका नेपाली नेताहरुले संविधान बनाएर सफलता प्राप्त गरे विश्वलाई हतियार छाड्न प्रेरणा मिल्ने मोदीले बताए ।

कमल थापा असन्तुष्ट

मोदीको भाषणबाट राप्रपा नेपालका अध्यक्ष कमल थापा भने असन्तुष्ट बनेका छन् । मोदीको सम्बोधनपछि संसदबाटै मिडियालाई प्रतिक्रिया दिएका थापाले संघीयता र गणतन्त्रको विषयमा मोदीले बोलेकामा खड्किएको बताए ।

संसदमा मोदीले नेपाल संघीय गणतन्त्रमा प्रवेश गरेकोमा एकदमै सही भएको बताएका थिए । ‘संघीय लोकतान्त्रिक गणतन्त्र उत्तम काम हो । नेपालले यो उत्तम बाटो चुन्यो,’ मोदीले संसदमा भने-’ आमी संघीय लोकतान्त्रिक गणतन्त्रको आदर गर्दछौं, प्रतिक्षा यही छ कि जतिसक्दो चाँडो अघि बढियोस् ।’

मधेसी दल सन्तुष्ट

मोदीको भाषणबाट मधेसिवादी दलहरु पनि सन्तुष्ट बनेका छन् । नयाँ संविधान ऋषि मनले बनाइनुपर्ने र हिमालदेखि तराईसम्म सबैको भावना जोड्नुपर्ने मोदीको प्रतिक्रियाबाट मधेसवादी दलहरु सन्तुष्ट बनेका हुन् ।

‘संविधान समावेशी हुनुपर्छ । हर नेपाली नागरिक पहाड, तराई सबैकोे होस् । सर्वजन हिताय, सर्वजन सुखाय हुनुपर्छ,’ मोदीले भने-’संविधानले जोड्छ, फुटाउँछ । विवाद समाधान गर्न माध्यम हुन्छ । चाहे पहाड होस्, चाहे तराई होस्, संविधानले जोड्ने र ताकत प्राप्त गर्ने काम गर्छ मेरो पूरा विश्वास छ ।’

मोदीले व्यवस्थापिका संसदमा नेपाली भाषामा सम्बोधन गर्नुभएको छ । उहाँले नेपालीमा सम्बोधन गर्न लाग्दा सभामुख सुवासचन्द्र नेम्वाङ र साँसदहरुले ताली बजाएर स्वागत गरेका थिए ।  केही हिन्दी लवज मिसिए पनि मोदीको नेपाली भाषा प्रष्ट बुझिन्थ्यो ।

बुद्धको भूमी नेपाल

भारतीय प्रधानमन्त्री मोदीले पटक पटक नेपाल बुद्धको भूमि भएको दोहोर्‍याउँदै नेपालको संविधान लेखन प्रक्रिया सफल भए विश्वमै हिंसा अन्त्यको लागि प्रेरणा हुने बताए । ‘तपाईं सफल हुनुभयो भने संसारलाई शस्त्र छाड्न प्रेरणा मिल्नेछ’, उनले भने ।

‘नेपालमा जन्मेका बुद्धले मनको अँध्यारो हटाए । विचारको प्रकाश दिए । मानवलाई चेतना दिए,’ मोदीले भने, ‘सार्क सम्मेलनमा आउँदा जनकपुर र लुम्बिनी जानेछु ।’
अब बन्ने संविधानले नेपाललाई जोड्नुपर्ने मोदीको धारणा छ । उनले हरेक नेपालीको भावना संविधानमा समेट्न सुझाव दिए । संविधान लेखनमा सफलताको कामना गर्दै मोदीले भने, ‘बुद्धको भूमीमा उद्देश्य र विचारको कमी छैन् भन्ने कुरा मैले बुझेको छु ।’

भावनात्मक एवं प्रभावी भाषण गरेका मोदीले भने- ‘वुद्धको भूमिमा विचारको कमी हुँदैन, इरादाको कमी हुँदैन र संकल्पको कमी हुँदैन भन्ने मलाई विश्वास छ । भारत र नेपालवी मित्रता रहोस् । अखण्ड नेपाल हिमाल भन्दा पनि उचाइमा उठोस्. ।’ भारतले नेपालमा हस्तक्षेप नगर्ने मोदीले बताए । ‘हाम्रो काम तपाईहरुको काममा दख्खल गर्ने होइन, तपाईहरुलाई दिशा दिने, मञ्जिलमा लाने हाम्रो काम होइन,’ मोदीले भने- ‘नेपाल सार्वभौम राष्ट्र हो । हिमालजतिकै उचाइ प्राप्त गरोस्, विश्व गौरवान्वित होस् । यस्तो नेपाल हाम्रो इच्छा हो ।’

नेपाल-भारत सम्बन्धलाई हिमाल र सागरजत्तिकै पुरानो भन्दै सम्बोधन सुरु गरेका मोदीले द्विदेशीय सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरे । नेपाल-भारत टेलिफोन महसुल घटाउन पहल गर्ने प्रतिबद्धता जनाए । उनले नेपालको सडक, पर्यटन र सूचना प्रवधिको लागि भारत सहयोग गर्न तयार रहेको जनाए ।
सवा अर्ब भारतीय भारतीय एक न एक पटक पशुपतिनाथको दर्शन गर्न आउने भन्दै उनले नेपालमा पर्यटन सम्भावना अपार रहेको औंल्याए । ‘एड्भेन्चर पर्यटनको लागि पनि नेपाल जत्तिको मुलुक अर्को छैन्’, मोदीले भने,’नेपालले विश्वभरको पर्यटकलाई लोभ्याउन सक्छ ।’

नेपालीले रगत नबगार्इ भारतले कुनै लडाइँ जितेको छैन : मोदी

मोदीले भारत र नेपालको सम्वन्ध हिमालय र गंगा जस्तै पुरानो रहेको भन्दै मोदीले नेपाली बहादुरहरुले रगत नबगार्इ भारतले कुनै लडाइँ नजितेको बताए । ‘हिन्दुस्तानले कुनै लडाइँ जितेको छैन, जुन जितसँग कुनै नेपालीको रगत नबगेको होस्’ मोदीले यसो भन्दा सभासदले ताली बजाएका थिए । लगतै उनले भने- भारतको स्वाभिमान र रक्षाका लागि नेपालका बहादुरहरु मार्न र मर्न पछि परेनन्, आज म उनीहरुलाई अभिवादन गर्न चाहन्छु ।’

कुनै भारतीय सैनिकले म मृत्युसँग डराउँदिन भन्यो भने भने कि त उसले झुटो बोलेको हुने कि गोर्खा हुने भनेर भारतीय सेनाका फिल्ड मार्सलले आफूलाई भनेको मोदीले संसदमा सुनाएका छन् । ‘उनी भन्थे, कोइ सेनाका जवाफ म मृत्युसँगै डराउँदिन त मान्नुस्, या त उ झुट बोलिरहेको छ वा उ गोर्खा हो’ मोदीले भने-’यदि गर्खाले म मृत्युसँग डराउँदिन भन्छ भने त्यो सत्य हो ।’

विजुली किन्न चाहन्छौं, नि:शुल्क होइन

मोदीले नेपालको पानी र बिजुली भारतले सित्तैमा लिन नखाजेको स्पष्ट पारेका छन् । नेपालको संविधानसभा व्यवस्थापिका संसदलाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने ‘जसरी हामी बिजुली सित्तैमा होइन किन्न चाहान्छौं, तपायहरुको पानी लिएर जान चाहदैनौं’ । उनले नेपालमा जन्मेका बुद्धले जसरी बिचारको पकाशमा मनको अँध्यारो हटाएका थिए त्यसैगरि बुद्धको जन्मभूमी नेपालले हिन्दूस्तानको अँध्यारो हटाउन सक्ने बताए । ‘नेपाल पानीको शक्तिको यस्तो धनी छ, जसले बिजुलीको माध्यमबाट आज पनि हिन्दूस्तानको अँध्यारो हटाउन सक्छ’ उनले भने ।

एउटा परम्परागत उखान जोड्दै मोदीले पानी र जवानी पहाडमा कहिल्यै नटिक्ने बताए । तर अब त्यो उखान परिवर्तन गर्ने बेला आएको समेत उनले बताए । ‘पहाडमा पानी बस्न सक्दैन तल बगेर जान्छ, जवानी पनि धेरै समय बस्न सक्दैन, किनकी जवान भएपछि मान्छेहरु रोजिरोटीका लागि तल र्झछन’ मोदीले भने ‘तर हिन्दूस्तान नेपालको पानी र जवानीलाई यहिँको हितमा प्रयोग गर्न सघाउन चाहान्छ’ ।

मोदीले भारतलाई मात्रै बिजुली बचेेर पनि नेपाल सम्बृद्ध मुलुक बन्न सक्ने बताए । ‘हामी तपाइहरुसँग जोडिन चाहान्छौं, अहिले तपाइहरुको अँध्यारो हउटाउन हामी सघाउछौं अब १० वर्षपछि हिन्दूस्तानको अँध्यारो तपाइहरुले हटाइदिनुहुनेछ’ । उनले अहिले नेपाललाई भारतले दिदै आएको बिजुलीमा दोब्बर गर्न ट्रान्सफरमर लाइन थप्न पहल गर्ने आश्वासन दिए ।

नेपाललाई १ अर्ब डलर दिने मोदीको घोषणा

मोदीले नेपाललाई एक अर्ब डलर सहयोग दिने घोषणा गर्नुभएको छ । नेपाल भ्रमणको क्रममा आइतबार संसदमा सम्बोधन गर्दै मोदीले अतिरिक्त सहयोगको घोषणा गर्नुभएको हो । भारतले दिन लागेको यो सफ्ट लोन हो । मोदीले नेपाल जलविद्युत र पर्यटनका माध्यमबाट समृद्ध राष्ट्र बन्ने भन्दै त्यसमा ध्यान दिन र नेतृत्वको परिचय दिएर निर्णय गर्न नेपाली नेताहरुलाई आह्वान गर्नुभयो ।

चोक-चोकमा हिँड्दै सर्वसाधारणसँग हात मिलाए मोदीले

मान्छेको मन जित्न के गर्नुपर्छ ? सायद भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई यसबारे कसैले सिकाउनु नपर्ला । आफ्नो दुई दिने नेपाल भ्रमणको पहिलो दिन उनले नेपाली सर्वसाधारणको मन जित्न नयाँ-नयाँ शैली प्रयोग गरे । नेपाल सरकारले मोदी आउने बाटो रातारात सफा पारेको थियो, तर मोदी गाडीबाट ओर्लिएर खाल्डो भएका ठाउँमा पुगे ।

सिंहदरबारमा प्रधानमन्त्री सुशील कोइरालासँग सम्झौतामा हस्ताक्षर गरी संसदलाई सम्बोधन गर्न नयाँ बानेश्वर जाने क्रममा उनले नयाँ बानेश्वर चोकमा गाडीबाट ओर्लेर सडकछेऊ लामवद्ध सर्वसाधारणसँग हात मिलाएका थिए । त्यहाँ उनले करिव दुई मिनेट पैदल हिँडेर मुस्कुराउँदै, हात मिलाउँदै अघि बढे । मोदीले सडकमा सर्वसाधारणसँग हात मिलाइरहेको बेला उता सभामुख सुवाषचन्द्र नेम्वाङ पानी भिज्दै मोदीको स्वागतका लागि उभिइरहेका थिए । यो क्रम यतिमै रोकिएन । संसदमा सबै सभासद्लाई मन्त्रमुग्ध पार्ने भाषण गरेपछि हायात होटल फर्किनेक्रममा चावहिल चोकमा फेरि उनको सवारी रोकियो ।

त्यहाँ पनि उनले उही पुरानै शैलीमा हात हल्लाए, नजिक गएर सर्वसाधारणसँग हात मिलाए । करिव दुई मिनेट सडकमा बिताएपछि मोदी बौद्धमा रहेको होटलतर्फ अघि बढे ।

नेपाली सेनाका अवकाशप्राप्त सहायकरथी केशरबहादुर भण्डारी भने भीभीआईपीहरुका यस्ता हर्कत नियोजित र योजनावद्ध हुने बताउँछन् । केही वर्ष पहिले बेलायती प्रधानमन्त्री भारत भ्रमणममा पुगेका बेला सडकछेऊमा रहेको छाप्रोमा रोकिएर पावभाजी खाएको दृष्टान्त पेश गर्दै उनले भने-’बाहिर हेर्दा उनीहरुको चाहानामा अचानक भएजस्तो देखिएपछि हप्तौंदेखि यसको योजना बनाइएको हुन्छ ।’

नेपाल ओर्लनासाथ मोदीको पहिलो कामः बिछोडिएको परिवारको पुनर्मिलन

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको धर्मपुत्रका रुपमा उनीसँगै रहँदै आएका नेपाली युवक जीतबहादुर मगरलाई मोदीले उनका परिवारसँग पुनर्मिलन गराइदिएका छन् । इन्डियन एयरफोर्सको विशेष विमानमा जीतबहादुरलाई पनि आफूसँगै लिएर आएका मोदीले उनका परिवारलाई जीतबहादुरसँग मिलन गराइदिएका हुन् ।

दश वर्षकै उमेरमा नवलपरासीस्थित आफ्नो घर छाडेर हिँडेका जीतबहादुर बेवारिसे अवस्थामा अहमदावादमा एक मनकारीले भेटेर तत्कालीन गुजरातका मुख्यमन्त्री मोदीसमक्ष पुर्‍याएका थिए । मोदीले जीतबहादुरलाई आफ्नो परिवारको सदस्यका रुपमा पालनपोषण र रेखदेखमात्र गराएनन्, उच्च शिक्षासमेत दिलाए । तिनै जीतबहादुरको परिवारसँग सम्पर्क स्थापित भएपछि उनले जीतवहादुरसँग पुनर्मिलन गराउने घोषणा नै गरेका थिए ।

जीतबहादुरलाई भेट्न उनका आमाबुबा र परिवारका अन्य सदस्य काठमाडौं आएका थिए । मोदी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बौद्धस्थित हायात रिजेन्सी होटलमा पुग्दा जीतबहादुरका परिवार त्यहाँ आइसकेका थिए । उनले त्यहाँ सबैभन्दा पहिलो काम नै परिवारको पुनर्मिलन गराएर सामुहिक फोटो खिचाएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता सइद अकबरुद्दिनले बताएका छन् ।

मोदीले पनि जीतबहादुरलाई परिवारको जिम्मा लगाएलगत्तै ट्वीट गरेर जीतबहादुरको परिवारसँग पुनर्मिलन गराउन पाउँदा खुसी लागेको बताएका छन् । मोदीले जीतवहादुरको परिवारसँग भेट्न चाहेकाले काठमाडौंस्थित दूतावासले जीतवहादुरकी आमा खगिसरा, दाइ दशरथ, जीतवहादुरकी बहिनी प्रेमकुमारी र उनकी भाउजूलाई काठमाडौं ल्याइएको थियो । भारतीय दूतावासकै खर्चमा उनीहरु शनिबार काठमाडौं आएको स्रोतले जनाएको छ ।

हायात होटलमा पुग्नेवित्तिकै मोदी जीतवहादुरका परिवारलाई भेट्न आतुर भएका थिए । त्यहाँ आयोजित एक सानो समारोहमा परिवारको पुनर्मिलन गराई मोदीसँग फोटो खिचाइएको थियो । २७ वर्षीय जीतवहादुर १६ वर्षअघि आफ्नो घर छाडेर मजदूरीका लागि भारत छिरेका थिए । दिल्लीमा घरेलु कामदारका रुपमा रहेका उनी केही समयपछि भागेर राजस्थान पुगेका थिए ।

त्यहाँबाट घर फर्किन गोरखपुरको रेल चढेका जीतबहादुर झुक्किएर अहमदावाद पुगेपछि उनको जीवनले नयाँ मोड लियो । यसबीच करीव दश वर्ष मोदीको अभिभावकत्वमा हुर्किएका जीतवहादुर मोदी प्रधानमन्त्री भएपछि होस्टलमा बस्न थालेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मोदी दूतावासको रिसेप्शनमा सहभागी

दुई दिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संसदमा सम्बोधन गरे लगत्तै नेपालस्थित् भारतीय राजदुतावासले आयोजना गरेको सन्ध्याकालिन रिसेप्शनमा सरिक भएका छन् ।

रिसेप्शनमा सरिक हुन दुतावासस्थित् लैनचोर पुगेका मोदीलाई भेट्न निकै ठूलो भिड लागेको छ । राजनीतिक दलका नेता देखि कुटनितिज्ञहरु यतिवेला मोदीसंग फोटो खिचाउन र अटोग्राफ लिन व्यस्त छन् ।

Source: विभिन्न अनलाईन

कमेन्ट गर्नुहोस्
Share: