ट्याक्सी इकाई समिति वीचको फुटबल प्रतियोगिता शुरु

Share:

पोखरा, २१ भदौ। भद्रकाली ट्याक्सी इकाई समितिको आयोजना तथा ट्याक्सी व्यवसाय समिति पोखराको प्रायोजनमा पोखरामा शनिबारदेखि अन्तर ट्याक्सी इकाईस्तरीय दोस्रो सेभेन–ए–साइड फुटबल प्रतियोगिता शुरु भएको छ।

पोखरा – १३ संगमटोलस्थित माछापोखरी खेल मैदानमा शुरु भएको प्रतियोगितामा १४ वटा ट्याक्सी इकाई समितिले सहभागिता जनाउने छन्। प्रतियोगिता मङ्गलबारसम्म चल्ने छ।

प्रतियोगितामा विजेता समुहलाई नगद ५६ हजार छ सय ६६ शिल्ड, मेडल, प्रमाण पत्र र उपविजेतालाई ३४ हजार चार सय ४४ शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने छ।

त्यसैगरी, उत्कृष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता, बेष्ट डिफेण्डर, बेष्ट गोलकिपर, बेष्ट स्ट्राइकर र अनुसाशित समुहलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। ट्याक्सी चालकवीच आत्मियता, सद्भाव एवं खेलकुदको विकास गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको हो।

शनिवार आयोजित एक कार्यक्रमवीच सुपरस्टार राजेश हमालले प्रतियोगिताको उद्घाटन गरेका थिए। कार्यक्रममा बोल्दै उनले ट्याक्सी चालकहरुले समाजमा रचनात्मक काम गरेकोभन्दै प्रशंसा गरे। उनले हरेक वर्ग र क्षेत्र स्वार्थभन्दा माथि उठेर समुदायका लागि केहि गर्नुपर्नेमा जोड दिए।

सुपरस्टार हमालले दर्शकसँग प्रत्यक्ष भेटघाट गर्न पाएकोमा खुशी समेत व्यक्त गरे। ट्याक्सी व्यवसाय समिति पोखराका महासचिव पुर्णबहादुर गुरुङले चालकहरु अनुशाशित बन्नुपर्नेमा जोड दिए।  कार्यक्रममा अखिल नेपाल यातायात मजदुर सङ्गठनका केन्द्रीय उपाध्यक्ष रुद्र खत्री र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन कास्कीका अध्यक्ष विष्णु खत्रीले पनि बोलेका थिए। त्यसअवसरमा प्रतियोगितालाई सहयोग गरेकोभन्दै पोखरा – १३ बाँझापाटन निवासी समाजसेवी गोपाल÷भिमकला गुरुङ र सङ्गम युवा क्लवलाई सम्मान गरिएको थियो।

साथै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ट्याक्सी इकाई समितिले सुपरस्टार राजेश हमाललाई दोसल्ला ओढाएर सम्मान गरेको थियो। भद्रकाली ट्याक्सी इकाई समितिका अध्यक्ष श्रीप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहसंयोजक गोपाल त्रिपाठीले स्वागत र सचिव पुर्णबहादुर जि.सिले कार्यक्रम संचालन गरेका थिए।

पहिलो दिनको खेलबाट रामबजार ट्याक्सी इकाई समिति र हस्पीटलचोक ट्याक्सी इकाई समिति प्रिवाक्टरमा प्रवेश गरेका छन्। नयाँबजार ट्याक्सी इकाई समितिलाई एकका विरुद्व तीन गोलगर्दै रामबजार इकाई र आयोजक भद्रकाली ट्याक्सी इकाई समिति वीलाई सुन्यका विरुद्व तीन गोलगर्दै हस्पिटल इकाई अघिल्लो चरणमा प्रवेश गरेको हो।

कमेन्ट गर्नुहोस्
Share: